काठमाडौं, १३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री पदको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा उहाँलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।
संविधानको धारा ७६ (१) अनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त दलका नेताको हैसियतमा राष्ट्रपति पौडेलले शाहलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो । काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएर निर्वाचनमा सहभागी हुनुभएका शाह पहिलोपटक संसद् प्रवेश गर्दै सिधै प्रधानमन्त्री बन्न सफल हुनुभएको हो ।
शपथ ग्रहणसँगै प्रधानमन्त्री शाहले रक्षा तथा उद्योग मन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्नुभएको छ । उहाँले तत्कालै मन्त्रिपरिषद् गठन गर्दै विभिन्न मन्त्रालयमा मन्त्रीहरू नियुक्त गर्नुभएको छ ।
मन्त्रिपरिषद्मा स्वर्णिम वाग्ले अर्थमन्त्री, सुदन गुरुङ गृहमन्त्री, शिशिर खनाल परराष्ट्र मन्त्री नियुक्त हुनुभएको छ । यस्तै, सुनिल लम्साल भौतिक पूर्वाधार तथा यातायात मन्त्री, विराजभक्त श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री, खड्कराज (गणेश) पौडेल पर्यटन मन्त्री बन्नुभएको छ ।
त्यसैगरी सस्मित पोखरेल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री, विक्रम तिमिल्सिना सञ्चार तथा सूचना प्रविधि मन्त्री नियुक्त हुनुभएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा प्रतिभा रावल, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा दीपक साह, कानून मन्त्रीमा सोविता गौतम, कृषि तथा पशुपन्छी विकास मन्त्रीमा गीता चौधरी तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा सीता वादी नियुक्त हुनुभएको छ ।
नवनियुक्त प्रधानमन्त्री शाह नेतृत्वको सरकारबाट देशमा सुशासन, आर्थिक सुधार, रोजगारी सिर्जना तथा सेवा प्रवाहमा सुधार आउने अपेक्षा गरिएको छ ।







प्रतिक्रिया