बालेन शाह प्रधानमन्त्रीमा नियुक्त, आजै शपथ ग्रहण

काठमाडौं, १३ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ।

राष्ट्रपति रामचन्द्र पौडेल ले शुक्रबार बिहान शाहलाई नेपालको नयाँ प्रधानमन्त्रीका रूपमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो।

नवनियुक्त प्रधानमन्त्री शाहले आजै शुभ साइत पारेर पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा दिउँसो १२ बजेर ३४ मिनेटमा शपथ ग्रहण हुने तयारी गरिएको छ।

नेपालको संविधानको धारा ७६ को उपधारा (१) अनुसार एकल सरकार गठनको प्रक्रिया अन्तर्गत शाह प्रधानमन्त्री नियुक्त हुनुभएको हो।

शपथ ग्रहण समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेता, कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाजका अगुवा तथा उच्च सरकारी अधिकारीहरूलाई आमन्त्रण गरिएको छ। प्रधानमन्त्रीसँगै मन्त्रिपरिषद्का सदस्यहरूको पनि शपथ गराइने तयारी रहेको स्रोतले जनाएको छ।

नयाँ प्रधानमन्त्रीको नियुक्तिसँगै देशको राजनीतिक नेतृत्वमा नयाँ अध्याय सुरु भएको छ। अब शाह नेतृत्वको सरकारले सुशासन, आर्थिक सुधार, रोजगारी सिर्जना तथा राजनीतिक स्थायित्वतर्फ कसरी अघि बढ्छ भन्ने विषयमा व्यापक चासो बढेको छ।

प्रकाशित मिति: १३ चैत्र २०८२, शुक्रबार  ११ : ४६  बजे