प्रधानमन्त्री कार्यालयमा प्रवेश अब अनुमति बिना असम्भव

काठमाडौँ, १३ चैत । नयाँ प्रधानमन्त्री नियुक्तिसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रवेश व्यवस्थामा कडाइ गरिने भएको छ। अब उक्त कार्यालय परिसरभित्र प्रवेश गर्न प्रधानमन्त्रीको सचिवालयको अनुमति अनिवार्य गरिने व्यवस्था लागू हुन लागेको हो।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाह (बालेन) शुक्रबार मध्यान्ह राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिँदै प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने तयारीमा हुनुहुन्छ। शपथपछि उहाँले सिंहदरबारस्थित कार्यालयमा पदबहाली गर्नुहुनेछ।

कार्यालय स्रोतका अनुसार बिहीबारदेखि नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सामान्य प्रवेश रोकिएको छ। अत्यावश्यक कामका लागि मात्र मुख्यसचिव वा सम्बन्धित सचिवको अनुमतिमा प्रवेश दिइँदै आएको छ।

शुक्रबारदेखि भने यो व्यवस्था अझ कडाइका साथ लागू हुने जनाइएको छ। प्रधानमन्त्री पदबहाली गरेसँगै कार्यालय परिसरभित्र सोझै प्रवेश गर्न नपाइने र अनिवार्य रूपमा प्रधानमन्त्रीको सचिवालयबाट स्वीकृति लिनुपर्ने व्यवस्था लागू गरिनेछ।

यसअघि सर्वसाधारण तथा कर्मचारीलाई निश्चित प्रक्रिया पूरा गरी कार्यालय परिसरमा प्रवेश गर्न दिइने प्रचलन रहे पनि अब सुरक्षा र व्यवस्थापनलाई थप प्रभावकारी बनाउन नयाँ प्रणाली लागू गर्न लागिएको जनाइएको छ।

यससँगै सिंहदरबारभित्र प्रधानमन्त्रीका लागि नयाँ कार्यकक्ष तथा आसन व्यवस्थापनसमेत परिवर्तन गरिएको छ। नयाँ व्यवस्थाअनुसार प्रधानमन्त्रीको आसन उत्तर फर्काएर तयार पारिएको स्रोतले जनाएको छ।

सरकार गठनसँगै प्रशासनिक संरचना, सुरक्षा व्यवस्थापन र कार्यशैलीमा समेत परिवर्तन देखिन थालेको छ। नयाँ नेतृत्वले कार्यक्षमता र अनुशासनलाई प्राथमिकतामा राख्दै कडा व्यवस्थापन प्रणाली लागू गर्न लागेको बुझिएको छ।

प्रकाशित मिति: १३ चैत्र २०८२, शुक्रबार  ०८ : ०२  बजे