इरानको ऊर्जा संरचनामाथिको आक्रमण थप १० दिनका लागि रोक्ने ट्रम्पको निर्णय

काठमाडौँ, १३ चैत ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ऊर्जा संरचनामाथि गर्दै आएको सैन्य आक्रमण थप १० दिनका लागि रोक्ने बताउनुभएको छ । उहाँले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत इरानी सरकारको अनुरोध बमोजिम १० दिनका लागि आक्रमणमा रोक लगाएको उल्लेख गर्नुभए को छ ।

पछिल्लो निर्णयसँगै अमेरिका–इरानबीचको वार्ता चलिरहेको र निकै राम्रो प्रगतिमा रहेको बीबीसीले जनाएको छ । ह्वाइट हाउसले इरानले युद्ध अन्त्यका लागि सम्झौता नगरे आक्रमण जारी राख्ने चेतावनी दिएको छ । ट्रम्पले हालै भएको मन्त्रिपरिषद् बैठकमा इरानलाई युद्ध अन्त्य गर्नका लागि सम्झौता गर्न दबाब दिनुभएको छ । इरान वार्तामा नआए अमेरिकाले लगातार आक्रमण गर्ने चेतावनी समेत ट्रम्मले दिनुभएको बीबीसीले जनाएको छ ।

तर इरानी अधिकारीहरूले भने अमेरिकासँग कुनै वार्ता नभएको प्रतिक्रिया दिएका छन् । यसअघि, इरानले अमेरिकाले प्रस्ताव गरेको शान्ति योजना अस्वीकार गरिसकेको छ । यो प्रस्तावमा अमेरिकाले इरानलाई आफ्नो परमाणु कार्यक्रम त्याग्न र ब्यालेस्टिक मिसाइलहरू सीमित गर्न भनेको थियो । अमेरिकाले इरानलाई पेस गरेको १५ बुँदे शान्ति प्रस्तावको विस्तृत विवरण भने अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

प्रकाशित मिति: १३ चैत्र २०८२, शुक्रबार  ०७ : ५१  बजे