काठमाडौँ, १२ चैत । छिनछिनमा विद्युत् जाने अर्थात् ‘ट्रिपिङ’ र विद्युत् रोकावट हुने समस्यामा सुधार आएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
प्राधिकरणको तथ्याङ्कअनुसार अघिल्लो वर्षको साउनदेखि फागुन मसान्तसम्मको तुलनामा यस वर्षको त्यही अवधिमा ट्रिपिङको सङ्ख्या १८ प्रतिशत र अवरोधको समय ३३ प्रतिशतले घटेको हो । प्राधिकरणका अनुसार देशभर गरी अघिल्लो आर्थिक वर्ष ६८७ पटक ट्रिपिङ भएकोमा यस वर्षको त्यही अवधिमा ५६० पटक मात्रै भएको छ ।
यस्तै गएको आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्ममा ३४१ घण्टा विद्युत् अवरुद्ध भएकोमा यस वर्ष २२८ घण्टा मात्रै अवरुद्ध भएको छ । सात वटै प्रदेश र केन्द्रमा सुधारको अवस्था देखिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यकाअनुसार प्रसारण तथा वितरण लाइन र सबस्टेशनको सुदृढीकरण, प्राविधिक समस्या भएका ठाउँमा तत्काल सुधार र दक्ष जनशक्तिलाई तालिमसहित अहोरात्र गरिएको व्यवस्थापनका कारण यो सुधार सम्भव भएको हो ।
चैत, वैशाख, जेठ र असारमा हावाहुरी र पानीका कारण ट्रिपिङ बढ्न सक्ने भए पनि गएको वर्षको तुलनामा कम गर्ने तयारीमा प्राधिकरण जुटेको शाक्यले बताउनुभयो ।







प्रतिक्रिया