प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले लिए शपथ

काठमाडौं, १२ चैत । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसदको अस्थायी भवनमा आयोजित एक विशेष समारोहका बीच सांसदहरूले आफ्नो पाँच वर्षे कार्यकालका लागि औपचारिक रूपमा शपथ लिएका हुन् ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराए। केसीलाई यसअघि नै राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपतिद्वारा शपथ गराइएको थियो । यसपटकको शपथ ग्रहण समारोहमा नेपालको बहुजातीय र बहुभाषिक पहिचानको अनुपम दृश्य देखिएको छ ।

कुल सांसदमध्ये ६३ जनाले नेपाली भाषा बाहेकका विभिन्न मातृभाषामा शपथ लिएका छन् । सांसदहरू आ–आफ्नो जातीय पहिचान झल्कने परम्परागत भेषभूषामा सजिएर सिंहदरबार पुग्दा समारोह निकै रङ्गीन र समावेशी देखिएको थियो । शपथ ग्रहणसँगै अब नयाँ प्रतिनिधिसभाको बैठक आह्वान गर्ने र सभामुख तथा उपसभामुख चयन गर्ने प्रक्रिया अगाडि बढ्नेछ ।

प्रकाशित मिति: १२ चैत्र २०८२, बिहिबार  १४ : ४५  बजे