पवन कल्याणको लगातार चौथो फ्लप बन्यो ‘उस्ताद भगत सिंह’

काठमाडौं, १२ चैत । तेलुगु अभिनेता पवन कल्याणको विगत केही वर्षयता फिल्मी करिअर सुखद् देखिएको छैन । उहाँका एकपछि अर्को फिल्मले बक्स अफिसमा कमजोर व्यापार गरिरहेका छन् । अब उहाँको अर्को नयाँ फिल्म ‘उस्ताद भगत सिंह’ पनि फ्लप भएको छ ।

बलिउडको ‘धुरन्धुर २’सँग एकसाथ रिलिज भएको यो फिल्मले प्रदर्शनको एक सातामा आधा बजेट पनि उठाउन सकेको छैन । १५० करोड भारुमा बनेको ‘उस्ताद भगत सिंह’ले ३४ करोड ७५ लाखको सानदार ओपनिङ गरेको भए पनि दर्शकीय प्रतिक्रिया नकारात्मक आएपछि दोस्रो दिनबाटै व्यापारमा भारी गिरावट आएको थियो ।

दोस्रो दिन फिल्मले ९ करोड मात्र कमाइ गर्यो । सातौं दिनमा आइपुग्दा फिल्मको व्यापार १ करोडमा झरेको छ । अब दोस्रो सातामा फिल्मको व्यापार लाखमा हुने देखिन्छ । ट्रेड पोर्टल स्याकनिल्कका अनुसार फिल्मले प्रदर्शनको एक सातामा भारु ६५ करोड ७४ लाख नेट (७७ करोड ग्रस) कमाएको छ ।

यसरी हेर्दा फिल्मले अहिलेसम्म कुल बजेटको ४४ प्रतिशत मात्र उठाउन सफल भएको देखिन्छ । फिल्मको सुस्त गतिका कारण अब यसको सम्पूर्ण प्रदर्शन अवधिमा ८५ करोडभन्दा कम नेट कमाइ हुने अनुमान गरिएको छ । ‘उस्ताद भगत सिंह’को असफलतासँगै यो पवन कल्याणको लगातार चौथो फ्लप फिल्म बनेको छ ।

यसअघि उनका तीन फिल्म ‘ब्रो’ (लागत ८० करोड, इन्डिया नेट ८२ करोड), ‘हरि हर वीरा मल्लू’ (लागत ३ सय करोड, इन्डिया नेट ८७ करोड) र ‘दे कल हिम ओजी’ (लागत २५० करोड, इन्डिया नेट १९४ करोड) असफल भएका थिए । अब उनको आगामी वर्ष नयाँ फिल्म आउनेछ ।

प्रकाशित मिति: १२ चैत्र २०८२, बिहिबार  १४ : ०६  बजे