‘आतंकपूर्ण दबाबमा हस्ताक्षर गराइ रवि लामिछानेलाई जेल बाहिर निकालियो’—जेलरको बयान

काठमाडौं,  चैत्र १२  । भदौ २४ को घटनासम्बन्धी जाँचबुझका क्रममा रवि लामिछाने लाई नख्खु कारागारबाट बाहिर निकाल्दा आतंकपूर्ण अवस्थामा हस्ताक्षर गराइएको दाबी सार्वजनिक भएको छ।

गौरीबहादुर कार्की नेतृत्वको आयोगसमक्ष तत्कालीन जेलर सत्यराज जोशीले आफूलाई करकाप र ज्यानको त्रास देखाएर अज्ञात कागजातमा हस्ताक्षर गराइएको बयान दिनुभएको हो।

जोशीका अनुसार लामिछानेका समर्थकहरू नाराबाजी गर्दै जेल परिसरभित्र प्रवेश गरेका थिए र त्यसपछि आफू तथा कर्मचारीहरू ज्यान जोगाउन अस्पताल भवनभित्र लुकेका थिए। सोही क्रममा भीडले अत्यधिक दबाब दिँदै आफूलाई कागजातको विषयवस्तु थाहा नभएको अवस्थामा हस्ताक्षर गर्न बाध्य बनाएको उहाँको दाबी छ।

“जीवन–मरणको त्रासमा पारेर हस्ताक्षर गराइयो, त्यसको कुनै वैधानिक हैसियत छैन,” जोशीले आयोगसमक्ष दिएको बयानमा उल्लेख गर्नुभएको छ।

घटनाका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी का केही नेताहरू पनि नख्खु पुगेको उल्लेख गरिएको छ।

उक्त दिन कारागारमा १ हजार २८१ कैदीबन्दी रहेकोमा घटनापछि ७४९ जना फर्किएको, ७० जनालाई अन्यत्र सारिएको र ४५९ जना अझै फरार रहेको पनि जोशीले बताएका छन्।

यो घटनाले कारागार सुरक्षा, कानुनी प्रक्रिया तथा भीड नियन्त्रणमा गम्भीर प्रश्न उठाएको छ भने आयोगको थप निष्कर्षले घटनाको वास्तविकता अझ प्रस्ट पार्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: १२ चैत्र २०८२, बिहिबार  ०७ : ४८  बजे