फास्ट फ्यानद्वारा खाद्य स्वच्छता र सेवा उत्कृष्टता प्रशिक्षण म्याराथन सुरु

काठमाडौं,११ चैत्र ।  फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) ले सदस्य प्रतिनिधि, म्यानेजर, सेफ तथा क्याप्टेनलाई लक्षित गर्दै GMP/HACCP आधारित खाद्य स्वच्छता तथा सेवा उत्कृष्टता सम्बन्धी “Training Marathon” कार्यक्रम सुरु गरेको छ।

वि.सं. २०८२ चैत ११ गतेदेखि औपचारिक रूपमा सुरु भएको उक्त कार्यक्रम काठमाडौंको क्वालिटी क्याफे, लाजिम्पाटमा आयोजना गरिएको हो। कार्यक्रम एरिया इन्चार्ज दीपक श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा फास्ट फ्यानका अध्यक्ष होमराज श्रेष्ठ, प्रशिक्षक योगेन्द्र ढुंगेल, मदानी तथा राजधानी डेरीका प्रतिनिधि सियो माधव दाहाललगायत विभिन्न सरोकारवालाहरूको उपस्थिति रहेको थियो। साथै, फास्ट फ्यानका सल्लाहकार रमिला श्रेष्ठ र लिला बहादुर श्रेष्ठ, उपाध्यक्ष रामकाजी भण्डारी, महासचिव राकेश श्रेष्ठ, सचिव कुमार भण्डारी, कोषाध्यक्ष टेक बहादुर श्रेष्ठ तथा अन्य सदस्यहरूको समेत सहभागिता रहेको थियो।

यसैगरी प्राविधिक टोलीका चन्द्र माझी र लिला श्रेष्ठसहित विभिन्न सदस्य रेस्टुरेन्टहरूबाट करिब ३० जना म्यानेजर, सेफ र क्याप्टेनको सहभागिता रहेको आयोजकले जनाएको छ।

प्रशिक्षण कार्यक्रममार्फत खाद्य स्वच्छता, सुरक्षित खाद्य व्यवस्थापन तथा उत्कृष्ट सेवा प्रवाहसम्बन्धी व्यवहारिक ज्ञान र सीप अभिवृद्धि गर्ने उद्देश्य राखिएको छ।

राजधानीका विभिन्न स्थानमा सञ्चालन हुने उक्त प्रशिक्षण कार्यक्रम २०८३ वैशाख १८ गतेसम्म जारी रहने जनाइएको छ, जसले आतिथ्य क्षेत्रको सेवा गुणस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: ११ चैत्र २०८२, बुधबार  ०९ : ५४  बजे