बझाङमा सडक निर्माण अनियमितता: निमित्त प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं,  १०  चैत्र । अख्तियार दुरूपयोग अनुसन्धान आयोग ले बझाङको बित्थडचिर गाउँपालिकामा सडक निर्माणका क्रममा अनियमितता गरेको आरोपमा पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्ट, इन्जिनियर सन्देश भण्डारी, सब–इन्जिनियर किरण भण्डारी, लेखापाल रामचन्द्र धामी तथा निर्माण व्यवसायी मानबहादुर बोहराविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। उनीहरूबाट जनही ८ लाख ४८ हजार ९६२ रुपैयाँ बिगो माग गरिएको छ।

बित्थडचिर गाउँपालिका–९ स्थित बागथला–धारी डोबा सडक निर्माण योजनामा ग्याबिन तथा मेसिनरी कार्य नगरी सम्पन्न देखाएर भुक्तानी लिएको उजुरीपछि आयोगले अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानका क्रममा वास्तविक कामभन्दा कम काम गरी झुट्टा बिल तथा प्रतिवेदन तयार पारेर रकम भुक्तानी लिएको पुष्टि भएको आयोगको ठहर छ। नापी किताबमा ३३८ मिटर उल्लेख गरिएको सिंचाइ क्यानल फिल्डमा २४८ मिटर मात्र निर्माण भएको भेटिएको छ भने ह्युम पाइप कल्भर्टलगायतका केही संरचना निर्माण नै नभएको पनि पाइएको छ।

आयोगका अनुसार मिलेमतोमा झुट्टा कागजात तयार गरी ८ लाखभन्दा बढी रकम भुक्तानी लिई सरकारलाई हानि पुर्‍याइएको छ।

आयोगले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद, जरिवाना तथा बिगो असुलउपरको माग गर्दै मुद्दा अघि बढाएको छ।

प्रकाशित मिति: १० चैत्र २०८२, मंगलबार  २० : २७  बजे