विश्व क्षयरोग दिवसमा नेपाल औषधि व्यवसायी संघको अपिल: “खुद्रा औषधि व्यवसायीलाई राष्ट्रिय TB नियन्त्रण कार्यक्रममा औपचारिक साझेदार बनाऔँ”

काठमाडौं, १० चैत्र ।  विश्व क्षयरोग दिवसको अवसरमा नेपाल औषधि व्यवसायी संघ, काठमाडौँ (NCDA-KTM) ले क्षयरोग (TB) नियन्त्रणमा खुद्रा औषधि व्यवसायीहरूलाई सक्रिय, प्रभावकारी र राष्ट्रिय साझेदारको रूपमा समावेश गर्न सरकार, स्वास्थ्यकर्मी, नीति निर्माता र सरोकारवालाहरूसँग हार्दिक अपिल गरेको छ।

संघले प्रेस विज्ञप्तिमार्फत TB अझै पनि नेपालमा गम्भीर सार्वजनिक स्वास्थ्य चुनौती रहेको र औषधि प्रतिरोधी TB (DR-TB) समेत बढ्दो समस्या भएको उल्लेख गर्दै प्रारम्भिक पहिचान, परीक्षण पहुँच, उपचार निरन्तरता र समुदायस्तरको सक्रिय सहभागिताको महत्वमा जोड दिएको छ।

विज्ञप्तिमा भनिएको छ कि बिरामीहरूले स्वास्थ्य समस्या सुरु हुँदा विशेषगरी लामो समयसम्म खोकी, ज्वरो, तौल घट्ने, राति पसिना आउने जस्ता लक्षण देख्दा सबैभन्दा पहिले सम्पर्क गर्ने स्थल नजिकको खुद्रा औषधि पसल नै हुने भएकाले TB को “First Point of Contact” का रूपमा औषधि व्यवसायीहरूको भूमिका राष्ट्रिय TB नियन्त्रण रणनीतिमा औपचारिक रूपमा समेटिनु आवश्यक रहेको छ।

संघले JANTRA (Japan-Nepal Health and Tuberculosis Research Association)सँगको सहकार्यमा देशभर TB सम्भावित बिरामीहरूको पहिचान, छानबिन, परीक्षण केन्द्रमा रेफरल र उपचार पालना सुनिश्चित गर्ने अभ्यास अघि बढाइरहेको जनाएको छ। यसले देखाएको छ कि समुदायमा प्रत्यक्ष पहुँच भएका औषधि व्यवसायीहरूलाई सही तालिम, नीतिगत ढाँचा र समन्वय प्रणालीसँग जोड्दा TB case detection, early referral, treatment adherence support र stigma reduction मा उल्लेखनीय सफलता हासिल गर्न सकिन्छ।

NCDA-KTM ले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र (NTCC), सम्बन्धित विभाग, प्रदेश र स्थानीय तहसँग सार्वजनिक-निजी साझेदारी (PPP) सिद्धान्त अनुसार औपचारिक सहकार्य अघि बढाउन हार्दिक अपेक्षा व्यक्त गरेको छ। विज्ञप्तिमा TB लक्षण पहिचान, रेफरल प्रणाली, तालिम, structured reporting, rational dispensing र जनचेतना अभियान लगायतका महत्वपूर्ण पक्षहरूमा संस्थागत सहकार्यको आवश्यकता औँल्याइएको छ।

नेपाल औषधि व्यवसायी संघका अध्यक्ष शंकर महर्जन र महासचिव शुभमान श्रेष्ठले औपचारिक प्रतिबद्धता व्यक्त गर्दै भनेका छन्:
“क्षयरोग पहिचान गरौँ, परीक्षण गरौँ, उपचार पूरा गरौँ – TB मुक्त नेपाल बनाऔँ। हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं! – सरकार, समुदाय र औषधि व्यवसायीहरूको साझा सहकार्यबाट।”

यस अभियानले स्पष्ट सन्देश दिएको छ कि TB नियन्त्रण केवल अस्पताल वा सरकारी स्वास्थ्य संस्थाको जिम्मेवारी मात्र होइन, राष्ट्रको साझा दायित्व हो र समुदायसँग प्रत्यक्ष जोडिएको खुद्रा औषधि व्यवसायी सञ्जाललाई राष्ट्रिय TB नियन्त्रण कार्यक्रममा औपचारिक रूपमा समावेश नगरी End TB लक्ष्य हासिल गर्न कठिन हुनेछ।

प्रकाशित मिति: १० चैत्र २०८२, मंगलबार  ११ : ४३  बजे