काठमाडौं, १० चैत्र । नेपाली कांग्रेस को केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे ललितपुरस्थित बीपी स्मृति भवनमा बस्ने तय गरिएको छ।
कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल का अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ।
बैठकमा पार्टीको १५औँ महाधिवेशनको मिति तय गर्ने विषयसहित समसामयिक राजनीतिक एजेन्डामा छलफल हुने नेताहरूले बताएका छन्। यसअघि बसेको केन्द्रीय समिति बैठकले अब पार्टीलाई महाधिवेशनतर्फ केन्द्रित गर्ने निष्कर्ष निकालेको थियो।
त्यसैगरी, फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा र पार्टीको पराजयका कारणबारे पनि छलफल हुने जनाइएको छ। सोही सन्दर्भमा सभापतिसमक्ष राजीनामा दिनुभएका गगन थापा को राजीनामा अघिल्लो बैठकले अस्वीकृत गरिसकेको छ।
राजीनामा अस्वीकृत भएपछि विकसित परिस्थितिबारे थप छलफल गर्न पुनः केन्द्रीय कार्यसमिति बैठक बोलाइएको नेताहरूको भनाइ छ। कांग्रेसभित्र चुनावी समीक्षा, नेतृत्वको भूमिका र आगामी महाधिवेशनको तयारीलाई लिएर महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ।







प्रतिक्रिया