अप्रत्याशित हार व्यहोरेपछि आत्मसमीक्षामा एमाले, वडा तहदेखि कारण खोज्ने अभियान सुरु

काठमाडौं, १० चैत्र ।  प्रतिनिधिसभा निर्वाचनमा अप्रत्याशित हार व्यहोरेपछि नेकपा एमाले ले पराजयको कारण खोज्न व्यापक समीक्षा प्रक्रिया सुरु गरेको छ। पार्टीले वडा कमिटीदेखि केन्द्रसम्म समीक्षा अभियान सञ्चालन गर्दै मातहतका सबै कमिटीलाई प्रतिवेदन पठाउन निर्देशन दिएको छ।

एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारी का अनुसार तल्ला कमिटीहरूलाई निर्वाचनको विस्तृत समीक्षा गरी सुझावसहितको प्रतिवेदन केन्द्रमा पठाउन भनिएको छ। वडा, पालिका, जिल्ला र प्रदेश हुँदै प्रतिवेदन संकलन गरिने र त्यसकै आधारमा केन्द्रीय स्तरमा समग्र समीक्षा गरिने जनाइएको छ।

यसपटकको निर्वाचनमा एमालेले अपेक्षाविपरीत कमजोर प्रदर्शन गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली सहित शीर्ष तहका नेता पराजित भएका छन्। उपाध्यक्षहरू विष्णुप्रसाद पौडेल, गोकर्णराज विष्ट, पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल तथा अन्य प्रभावशाली नेताहरूले समेत हार बेहोरेपछि पार्टीभित्र गम्भीर आत्ममूल्यांकनको आवश्यकता महसुस गरिएको छ।

अघिल्लो निर्वाचनमा ७८ सिट जितेको एमाले यसपटक २५ सिटमा सीमित भएको छ भने समानुपातिकतर्फ पनि मत आधाभन्दा कममा खुम्चिएको छ। यसले पार्टीको संगठन, नेतृत्व र रणनीतिमा कमजोरी देखिएको विश्लेषण भइरहेको छ।

यसैबीच, उपमहासचिव रघुवीर महासेठ ले पार्टीको कमजोर परिणामबारे वस्तुनिष्ठ समीक्षा गर्न आह्वान गर्नुभएको छ। उहाँले नीति, नेतृत्व, संगठन, कार्यशैली, प्रचार र व्यवस्थापनलगायत पक्षमा सुधार आवश्यक रहेको उल्लेख गर्दै सुझाव दिन कार्यकर्तालाई आग्रह गर्नुभएको छ।

प्रकाशित मिति: १० चैत्र २०८२, मंगलबार  ०७ : ०७  बजे