काठमाडौं, ७ चैत । पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइराला को १६औँ स्मृति दिवस आज देशभर विविध कार्यक्रमका साथ मनाइँदै छ।
चार पटक प्रधानमन्त्री बन्नुभएका कोइरालाको २०६६ चैत ७ गते निमोनियाका कारण निधन भएको थियो। उहाँले नेपालमा सशस्त्र द्वन्द्व अन्त्य गरी शान्ति स्थापना तथा लोकतन्त्र पुनःस्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।
विसं २०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्र शाह ले जननिर्वाचित प्रधानमन्त्रीलाई अपदस्त गरेपछि उत्पन्न राजनीतिक संकटमा कोइरालाले आन्दोलनको नेतृत्व गर्नुभएको थियो। त्यसैगरी, २०६१ माघ १९ गते दलमाथि प्रतिबन्ध लगाएपछि उहाँकै नेतृत्वमा सबै राजनीतिक शक्तिहरू एकजुट भई पूर्ण लोकतन्त्र स्थापनाका लागि आन्दोलन अघि बढाइएको थियो।
कोइरालाकै नेतृत्वमा भएको २०६३ सालको जनआन्दोलनपछि विघटित प्रतिनिधिसभा पुनःस्थापना भएको थियो, जसलाई नेपालको राजनीतिक इतिहासमा महत्वपूर्ण उपलब्धिका रूपमा लिइन्छ। आन्दोलन सफल भएपछि उहाँ चौथोपटक प्रधानमन्त्री बन्नुभएको थियो।
उहाँकै नेतृत्वमा माओवादी जनयुद्धको अन्त्य, शान्ति प्रक्रिया अगाडि बढाउने, जनसेनाको समायोजन तथा संविधानसभा निर्वाचन सम्पन्न गर्ने ऐतिहासिक कार्यहरू सम्पन्न भएका थिए। २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्ने प्रक्रियामा पनि उहाँको महत्वपूर्ण भूमिका रहेको थियो।
नेपाली काँग्रेससहित विभिन्न भ्रातृ तथा शुभेच्छुक संस्थाहरूले उहाँको योगदानको स्मरण गर्दै आज देशभर श्रद्धाञ्जली तथा स्मृति कार्यक्रम आयोजना गरिरहेका छन्।







प्रतिक्रिया