जनतालाई सिटामोल छैन, माननीयहरूलाई पाँचतारे विलास — ‘मितव्ययिता’ नारामाथि गम्भीर प्रश्न

काठमाडौं, ५ चैत्र । देशका अधिकांश सरकारी अस्पतालहरूमा सामान्य औषधि सिटामोलसमेत अभाव भइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का माननीय सांसदहरू भने पाँचतारे होटलको विलासितामा अभिमुखीकरण कार्यक्रममा सहभागी हुनुभएको छ। जनताको आधारभूत स्वास्थ्य सेवा संकटमा परिरहेका बेला यस्तो खर्चिलो कार्यक्रमले पार्टीले उठाउनुभएको सुशासन र मितव्ययिताको नारामाथि गम्भीर प्रश्न खडा गरेको छ।

दुर्गम गाउँहरूमा अझै पनि स्वास्थ्य सेवा पहुँचबाहिर रहेको अवस्था छ। सामान्य उपचार नपाएर बिरामीहरू पीडित भइरहनुभएको छ भने गर्भवती महिलाहरू अस्पताल पुग्न नसकी बाटोमै सुत्केरी हुनुपर्ने र ज्यानै जानेसम्मका घटनाहरू दोहोरिँदै आएका छन्। यस्तो संवेदनशील परिस्थितिमा जनताले निर्वाचित गर्नुभएको प्रतिनिधिहरू लक्जरी सुविधामा देखिनु प्रति व्यापक आलोचना भइरहेको छ।

रास्वपाले प्रत्यक्ष र समानुपातिक गरी १८२ सिट जितेपछि आफ्ना माननीय सांसदहरूका लागि ग्वार्कोस्थित पाँचतारे होटल मा दुई दिने आवासीय अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नुभएको हो। उक्त कार्यक्रम हिजोदेखि सुरु भई आज सम्पन्न हुने तालिका रहेको छ।

कार्यक्रममा माननीयहरूका लागि आवास, खानपिन, योग, ध्यान तथा प्रशिक्षणको व्यवस्था गरिएको छ। यसका लागि झण्डै ४० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। होटल व्यवस्थापनका अनुसार दुई दिन एक रातका लागि १२० भन्दा बढी कोठा बुक गरिएको छ। प्रति कोठा न्यूनतम १३ हजार रुपैयाँबाट सुरु हुने दरअनुसार आवासमै करिब १५ लाख ६० हजार रुपैयाँ खर्च भएको देखिन्छ।

त्यसबाहेक भोजन तथा अन्य व्यवस्थापनसमेत जोड्दा होटलमै मात्रै करिब ३० लाख रुपैयाँभन्दा बढी खर्च भएको अनुमान गरिएको छ। करिब ६ अर्ब रुपैयाँ लगानीमा निर्माण गरिएको उक्त होटल व्यवसायी राजेन्द्र शाक्यको नेतृत्वमा निर्माण गरिएको हो, जसको औपचारिक उद्घाटन अझै हुन बाँकी रहेको छ।

सुशासन, पारदर्शिता र मितव्ययिताको नारा लिएर जनमत प्राप्त गर्नुभएको पार्टीका नेताहरू संसद्मा पुगेको छोटो समयमै पाँचतारे सुविधामा देखिनु भएको भन्दै सामाजिक सञ्जालमा तीव्र असन्तुष्टि व्यक्त भइरहेको छ।

सामाजिक सञ्जाल प्रयोगकर्ता दिल निशानी मगरले टिप्पणी गर्दै लेख्नुभएको छ, “किसान, बेरोजगार र सुकुम्बासीहरूले जिताएका माननीयहरू फाइभ स्टार होटलमा रमाइरहनुभएको छ। जनतालाई औषधि छैन, नेताहरूलाई लक्जरी।”

पूर्वसांसद छिरिङ ल्हामु लामाले पनि व्यंग्य गर्दै लेख्नुभएको छ, “हाम्रो पालामा अभिमुखीकरण संसद् भवनमै हुन्थ्यो, अहिले त सुरु नै लक्जरीबाट हुने रहेछ।”

उक्त होटलका सञ्चालक राजेन्द्र शाक्य विगतदेखि नै विवादमा मुछिनुभएको व्यक्ति हुनुहुन्छ। बैंकिङ कसूरसम्बन्धी आरोपमा पक्राउ पर्नुभएका उहाँविरुद्धको मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन रहेको छ।

जनताको आधारभूत आवश्यकता पूरा गर्न नसकिएको अवस्थामा माननीयहरूका यस्ता खर्चिला अभ्यासहरूले राजनीतिक नैतिकता र प्राथमिकतामाथि गम्भीर बहस सिर्जना गरेको छ।

प्रकाशित मिति: ५ चैत्र २०८२, बिहिबार  १६ : ४१  बजे