काठमाडौं, ५ चैत्र । प्रतिनिधि सभा निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि नेपाली कांग्रेसका सभापति गगन थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिनुभएको छ ।
सभापति थापाले केन्द्रीय कार्यसमिति बैठकको मिति तय भएसँगै उपसभापति विश्वप्रकाश शर्मासमक्ष राजीनामा बुझाउनुभएको बताइएको छ । यद्यपि, उक्त राजीनामा पार्टीले औपचारिक रूपमा सार्वजनिक गरिसकेको छैन ।
पार्टीका एक पदाधिकारीका अनुसार ६ चैत्रमा बस्ने केन्द्रीय कार्यसमिति बैठकमा सभापतिको राजीनामाबारे औपचारिक छलफल हुने बताइएको छ । “राजीनामा दिने निर्णय सभापतिको अधिकार हो, उहाँले दिनुभएको छ । तर स्वीकृत गर्ने वा नगर्ने भन्ने विषय केन्द्रीय कार्यसमितिको अधिकारभित्र पर्छ,” ती पदाधिकारीले जानकारी दिनुभयो ।
यसअघि पुस २७ देखि ३० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो । तर उक्त महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का सर्वोच्च अदालत पुगेका छन् । मुद्दा हाल विचाराधीन अवस्थामा रहेको छ ।
उक्त विशेष महाधिवेशन पार्टीभित्रको आन्तरिक विवादबीच सम्पन्न भएको थियो । तत्कालीन महामन्त्रीद्वय थापा र शर्माले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन गर्दै विधानअनुसार विशेष महाधिवेशन आह्वान गर्नुभएको थियो । पार्टी विधानले ४० प्रतिशत प्रतिनिधिको माग आएमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था गरेको छ ।
निर्वाचन आयोगले भने ४ माघमा विशेष महाधिवेशनलाई वैधानिकता दिँदै थापा नेतृत्वकै केन्द्रीय कार्यसमितिलाई मान्यता दिएको थियो । सो निर्णयविरुद्ध देउवा र खड्का अदालत पुगेका हुन् ।
विशेष महाधिवेशनमार्फत पार्टी नेतृत्व मात्र होइन, नीति र कार्यदिशामा समेत परिवर्तन ल्याउने प्रयास गरिएको थियो । तर त्यसको अपेक्षित प्रभाव निर्वाचन परिणाममा देखिन सकेन । ‘अबकि बार, सय पार’ भन्ने नारासहित चुनावमा होमिएको कांग्रेस प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी जम्मा ३८ सिटमा सीमित भएको छ ।
सभापति थापा स्वयं पनि सर्लाही–४ बाट अमरेशकुमार सिंहसँग पराजित हुनुभएको छ । सिंहले ३५ हजार ६ सय ८८ मत प्राप्त गरी विजयी हुँदा थापाले २२ हजार ८ सय ३१ मत मात्र प्राप्त गर्नुभएको थियो ।
पराजयपछि पार्टीलाई पुनः संगठित गर्दै नियमित महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने उद्देश्यसहित सभापति थापाले राजीनामा दिनुभएको बुझिएको छ ।







प्रतिक्रिया