काठमाडौं, ३ चैत । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) को आगामी निर्वाचनलाई लक्षित गर्दै उद्योगी–व्यवसायीहरूले धमाधम उम्मेदवारी घोषणा गर्न थालेका छन्। यसै क्रममा एसोसिएट उपाध्यक्ष पदका लागि व्यवसायी प्रवलजंग पाण्डेले आफ्नो दाबी प्रस्तुत गर्नुभएको छ।
महासंघको चैत २८ र २९ गते काठमाडौंमा हुने अधिवेशनबाट विधानअनुसार अध्यक्षमा अञ्जन श्रेष्ठ स्वतः निर्वाचित हुनुहुनेछ भने अन्य पदहरूमा प्रतिस्पर्धा हुने देखिएको छ।
एसोसिएट उपाध्यक्ष पदमा दाबी गर्नुभएका पाण्डे सिटिजन बैंकका अध्यक्ष तथा लोमस ग्रुपका सञ्चालक हुनुहुन्छ। उहाँ महासंघको गतिविधिमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएको छ। अघिल्लो निर्वाचनमा पनि उपाध्यक्ष पदमा दाबी गर्नुभए पनि टिम व्यवस्थापनका कारण प्रतिस्पर्धाबाट पछि हट्नुभएको थियो।
महासंघभित्र तीन कार्यकाल कार्यकारीणी सदस्यको जिम्मेवारी सम्हालिसक्नुभएका पाण्डे पूर्वअध्यक्ष प्रदीपजंग पाण्डेका सुपुत्रसमेत हुनुहुन्छ।
उहाँले हाल निजी क्षेत्रको मनोबल खस्किएको उल्लेख गर्दै लगानीमैत्री वातावरण निर्माण हुन नसकेको बताउनुभयो। “निजी क्षेत्रका आवाज स्पष्ट रूपमा अघि सार्ने समय आएको छ,” उहाँले भन्नुभयो, “महासंघमा लामो अनुभवका आधारमा यस पदको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न सक्ने विश्वासका साथ उम्मेदवारी दिएको हुँ।”
इन्जिनियरिङ पृष्ठभूमि भएका पाण्डे व्यवसायमा आउनुअघि नेपाल टेलिकममा कार्यरत हुनुहुन्थ्यो। हाल उहाँको लगानी औषधि उत्पादन, सिमेन्ट, बैंक तथा बीमा क्षेत्रलगायत विभिन्न क्षेत्रमा फैलिएको छ।
उहाँले व्यवसायिक वातावरण सुधारका लागि नीतिगत स्थिरता अपरिहार्य रहेको बताउँदै आयकर दर घटाउने, भ्याटलाई बहुदर प्रणालीमा लैजाने तथा उद्योगका लागि सस्तो विद्युत उपलब्ध गराउनेजस्ता मागहरू अघि सार्नुभएको छ।







प्रतिक्रिया