काठमाडौं, ३ चैत्र । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहयोग पुर्याउनुभएकोमा नेकपा (एमाले) का नेताहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको छ।
प्रधानमन्त्री कार्कीले धन्यवाद व्यक्त गर्ने उद्देश्यले एमाले नेतृत्वलाई बालुवाटारमा आमन्त्रण गर्नुभएको थियो। सोही अनुसार एमालेका वरिष्ठ नेताहरू ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र महेश बर्तौला बालुवाटार पुग्नुभएको थियो।
उक्त अवसरमा प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउन एमालेले खेलेको सहयोगी भूमिकाको उच्च प्रशंसा गर्दै धन्यवाद व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो,
“यो जटिल अवस्थाबाट मुलुकलाई शान्तिपूर्ण रूपमा निकास दिने प्रमुख माध्यम निर्वाचन नै थियो। राष्ट्रप्रतिको जिम्मेवारी आत्मसात गर्दै यहाँहरूले देखाउनुभएको सहकार्य र सक्रिय सहभागिताका लागि म हार्दिक धन्यवाद व्यक्त गर्दछु।”
प्रधानमन्त्री कार्कीले निर्वाचनमा जित–हार स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै एकपटकको जनादेशबाट विचलित नहुन पनि आग्रह गर्नुभयो। उहाँले अटलविहारी बाजपेयी र इन्दिरा गान्धीको उदाहरण प्रस्तुत गर्दै राजनीतिमा उतारचढाव सामान्य विषय भएको धारणा व्यक्त गर्नुभयो।
“राजनीति निरन्तरको अभियान हो। देश र जनताका मुद्दालाई केन्द्रमा राखेर अगाडि बढिरहनुहोस्,” उहाँले थप गर्नुभयो।
उता एमाले नेताहरूले पनि सबै पक्षलाई समेट्दै शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउन सफल भएकोमा प्रधानमन्त्री कार्की तथा उहाँ नेतृत्वको सरकारलाई बधाई तथा धन्यवाद व्यक्त गर्नुभयो। उहाँहरूले कठिन परिस्थितिमा मुलुकलाई स्थिर र लोकतान्त्रिक निकास दिन नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको भन्दै प्रशंसा गर्नुभयो।
एमाले नेताहरूले यसपालिको निर्वाचनमा प्रशासनिक संयन्त्र निष्पक्ष देखिएको उल्लेख गर्दै समग्र चुनावी प्रक्रिया विगतको तुलनामा बढी शान्तिपूर्ण, स्वस्थ तथा खर्चिलोपन कम भएको अनुभव समेत साझा गर्नुभएको थियो।







प्रतिक्रिया