सिरहा, ३ चैत । सिरहा जिल्लाबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ११ हजारभन्दा बढी विद्यार्थी सहभागी हुने भएका छन् । शिक्षा विकास तथा समन्वय इकाई सिरहाका अनुसार जिल्लाभरबाट कुल ११ हजार ३७ परीक्षार्थीले परीक्षा दिने तयारी पूरा भएको छ ।
यसमा साधारणधारतर्फ १० हजार ६२५ र प्राविधिक धारतर्फ ४१२ विद्यार्थी रहेका छन् । परीक्षामा सहभागी हुने विद्यार्थीमध्ये साधारणतर्फ नियमित ९ हजार ८१२ र ग्रेड वृद्धिका लागि ८१३ जना रहेका छन् । त्यस्तै प्राविधिक धारतर्फ नियमित ३६५ र ग्रेड वृद्धिका लागि ४७ परीक्षार्थी सहभागी हुँदैछन् ।
लैङ्गिक आधारमा हेर्दा यस वर्ष सिरहामा ५ हजार ७२९ छात्र र ५ हजार ३०८ छात्राले परीक्षा दिने तथ्याङ्क छ । जिल्लाभरका परीक्षार्थीलाई पायक पर्ने गरी शिक्षा विकास तथा समन्वय इकाईले ५१ वटा परीक्षा केन्द्र तोकेको छ ।
परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन आवश्यक जनशक्ति तथा सुरक्षा प्रबन्ध मिलाउने कार्य भइरहेको इकाईले जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कार्यतालिका अनुसार यस वर्षको एसईई परीक्षा आगामी चैत १९ गतेदेखि सुरु भएर २९ गतेसम्म चल्नेछ । परीक्षा हरेक दिन बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ ।








प्रतिक्रिया