एकै दिन बजारमा आयो ४५ हजारभन्दा बढी सिलिन्डर ग्यास

काठमाडौं, ३ चैत । नेपाल आयल निगमले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्ति व्यवस्था सहज हुँदै गएको छ । निगमका अनुसार उपत्यकाका विभिन्न २४ वटा ग्यास बोटलिङ प्लान्टहरूले कुल ४५ हजार ८८८ वटा सिलिन्डर बजारमा पठाएका छन् ।

यो सङ्ख्या उपत्यकाको सामान्य दैनिक मागको तुलनामा करिब १० प्रतिशतले बढी हो । आपूर्ति प्रणालीमा सबैभन्दा ठूलो हिस्सा नेपाल ग्यास उद्योगले ओगटेको छ । बालाजुमा रहेको यस उद्योगले १० हजार ३० वटा सिलिन्डर बजारमा पठाएको छ ।

यस्तै, श्री ग्यास उद्योगले ४ हजार ४९८, एभरेष्ट ग्यासले ४ हजार २६ र सीता श्री ग्यासले ३ हजार ४२२ वटा सिलिन्डर बजारमा पठाएका छन् । अन्य उद्योगहरू मध्ये सगरमाथा ग्यासले ३ हजार २१७, सूर्य ग्यासले २ हजार ६६१ र उग्रचण्डी ग्यासले ३ हजार ४२२ वटा सिलिन्डर वितरण गरेका छन् ।

Screenshot

त्यसैगरी सुगम ग्यासले २ हजार ८२०, मेट्रो काठमाडौंले २ हजार ४४८, ओम ग्यासले १ हजार ८१५ र श्रीकृष्ण ग्यासले १ हजार ८१० थान सिलिन्डर बजारमा पठाएका छन् । हिमालय पेट्रो केमिकल्सले ३ हजार १०४ र साई बाबा ग्यासले २ हजार ४५० वटा सिलिन्डर आपूर्ति गरेका छन् ।

त्यस्तै भानु ग्यासले ९५५ र गीता ग्यासले ५७४ वटा सिलिन्डर बजारमा पठाएका छन् । बाबा ग्यास, गौरी शंकर, केब्सन्स र मनोज ग्यासले पनि बजारमा ग्यास पठाएका छन् । हाल सबै ग्यास उद्योगहरूले सरकारको निर्देशन अनुसार आधा (७.१ केजी) मात्रै ग्यास भरेर बजारमा पठाइरहेका छन् ।

दैनिक मागभन्दा १० प्रतिशत बढी ग्यास बजारमा पठाइएकाले उपभोक्तामा हुनसक्ने अभावको समस्या हटेर जाने विश्वास गरिएको छ ।

प्रकाशित मिति: ३ चैत्र २०८२, मंगलबार  १८ : ४२  बजे