काठमाडौं, ३ चैत । गृह मन्त्रालयले नेपाल-चीन सम्बन्धमा नकारात्मक असर पुर्याउने किसिमका गतिविधिमा संलग्न दोषीमाथि छानबिन गरी कारबाही गर्न नेपाल प्रहरीलाई निर्देशन दिएको छ ।
परराष्ट्र मन्त्रालयको पत्रानुसार प्राप्त विस्तृत विवरणका आधारमा गृह मन्त्रालयले घटनाको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन प्रहरीलाई निर्देशन दिएको हो ।
मोरङस्थित मनमोहन टेक्निकल इन्स्टिच्युटमा चिनियाँ राष्ट्रपति सी चिनफिङद्वारा लिखित ‘द गभर्नेन्स अफ चाइना’ नामक पुस्तक जलाइएको विषयलाई लिएर चीनले परराष्ट्र मन्त्रालयमार्फत ध्यानाकर्षण गराएको थियो ।
काठमाडौँस्थित जनवादी गणतन्त्र चीनको दूतावासबाट प्राप्त कूटनीतिक पत्रसहित परराष्ट्र मन्त्रालयले गृहलाई पत्राचार गरेपछि मन्त्रालयले सो कदम चालेको हो ।
घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरी दोषीलाई तत्काल कानुनी कारबाही गर्न गृह मन्त्रालयले मोरङको जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई समेत निर्देशन दिएको छ ।







प्रतिक्रिया