भारतको एक अस्पतालमा आगलागी : १० जना बिरामीको ज्यान गयो

काठमाडौं,  २ चैत्र  । भारतको ओडिसा राज्यको कटक शहरमा रहेको एससीबी अस्पतालको आईसीयूमा आगलागी हुँदा कम्तिमा १० जना बिरामीहरूको ज्यान गएको छ । बिरामीहरूको उपचार भइरहेको ट्रामा आईसीयू वार्डमा विद्युत् सर्किट सर्ट भएका कारण आगलागी भएको ओडिसाका मुख्यमन्त्री मोहन चरण माझीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्ययमले जनाएका छन् ।

घटनाको समयमा २३ जना बिरामी उपचाररत रहेकामा बाँकीलाई अन्य वार्डमा सारेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार बिरामीहरूलाई बचाउने प्रयास गर्दा कम्तीमा ११ जना कर्मचारीहरू जलेर घाइते भएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल मार्फत पीडित परिवारप्रति समवेदना प्रकट गर्दै पीडित परिवारका लागि क्षतिपूर्तिको घोषणा गर्नुभएको छ । भारतमा सन् २०२४ मा उत्तर प्रदेशको एक अस्पतालमा आगलागी हुँदा १० जना नवजात शिशुको ज्यान गएको थियो ।

प्रकाशित मिति: २ चैत्र २०८२, सोमबार  १९ : २०  बजे