कोशी सरकारले स्वीकृत गर्यो ‘आयोजना बैंक’ कार्यविधि

विराटनगर, २ चैत । कोशी प्रदेश सरकारले आयोजनाहरूको छनोट तथा प्राथमिकीकरणलाई व्यवस्थित आयोजना गर्न बैंक सम्बन्धी कार्यविधि स्वीकृत गरेको छ । विराटनगरमा बसेको मन्त्रिपरिषद् बैठकले आयोजना छनोट तथा वर्गीकरण र आयोजना बैंक व्यवस्थापन सम्बन्धी कार्यविधि २०८२’ लाई स्वीकृत गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को आर्थिक, सामाजिक तथा पूर्वाधार समितिबाट परिमार्जन भई आएको उक्त कार्यविधिलाई सरकारले अन्तिम रूप दिएसँगै अब प्रदेशमा योजना छनोट प्रक्रिया थप व्यवस्थित र प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणी पराजुलीका अनुसार बैठकले अन्य महत्त्वपूर्ण प्रशासनिक तथा कानुनी निर्णयहरू समेत गरेको छ । बैठकले ‘प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रदेश सभामा पेस गर्न स्वीकृति प्रदान गरेको छ ।

यसैगरी, प्रदेशको व्यावसायिक क्षेत्रलाई नियमन र व्यवस्थित गर्न ‘कोशी प्रदेश निजी तथा साझेदारी फर्म दर्ता दोस्रो संशोधन नियमावली २०८२’ लाई पनि बैठकले स्वीकृत गरेको मन्त्री पराजुलीले जानकारी दिनुभयो । मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङको हङकङ भ्रमणलाई अनुमति दिँदै आवश्यक स्वीकृतिका लागि संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

गैरआवासीय नेपाली संघ र नेपाली महिला संघ हङकङको निमन्त्रणामा आयोजना हुने विशेष कार्यक्रममा सहभागी हुन राज्यमन्त्री चेम्जोङ त्यसतर्फ जान लाग्नुभएको हो । उहाँको भ्रमणको सम्पूर्ण दैनिक तथा भ्रमण खर्च आयोजक संस्थाले नै बेहोर्ने निर्णयमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: २ चैत्र २०८२, सोमबार  १४ : ५५  बजे