विराटनगर, २ चैत । सिटिजन्स बैंकमा ४ करोड ९१ लाख हिनामिना भएको पाइएको छ । कञ्चनबारीमा रहेको बैंकमा आफ्नै कर्मचारीको मिलेमतोमा यति ठूलो रकम हिनामिना भएको पाइएपछि प्रशासनले प्रहरीमा उजुरी दिएको छ । कर्मचारीको मिलेमतोमा रकम हिनामिना भएको बैंकबाट उजुरी आएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी कविद कटुवालले बताउनुभयो ।
उहाँले अहिले अनुसन्धान भइरहेको पनि बताउनुभयो । अनुसन्धानका लागि आवश्यक कागजात माग भइ छानबिन थालिएको र रकम घोटालामा संलग्न व्यक्तिबारे अहिले खुलिनसकेको बताइएको छ । बैंक स्रोतका अनुसार घोटालामा ५ जना कर्मचारीको संलग्नता देखिएको र उनीहरू सबैमाथि कारबाहीका लागि उजुरी गरिएको हो ।
कञ्चनबारी शाखामा कार्यरत रोजी कँडेलको नेतृत्वमा सो घोटाला भएको आन्तरिक लेखापरीक्षणमा देखिएको स्रोत बताउँछ । आन्तरिक लेखा परीक्षणमा ठूलो परिमाणमा रकम हिनामिना भएको देखिएपछि बैंक प्रशासनले संलग्न कर्मचारीलाई निलम्बन गरिसकेको छ ।
हिनामिना भएको रकम असुलउपर गर्न र दोषीलाई कारबाही गर्न जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिइएको बैंकले जनाएको छ । उक्त कर्मचारीले फिक्स डिपोजिटमा राखेको रकमलाई धितो देखाएर नक्कली कर्जा फाइल खडा गरी रकम निकाल्ने गरेको पाइएको छ ।







प्रतिक्रिया