नेपालका विभिन्न स्थानहरूबाट आकाशमा देखिएको उज्यालो दृश्य के हो ?

काठमाडौं, २ चैत्र ।  नेपालका विभिन्न स्थानहरूबाट आइतबार (चैत १) साँझ आकाशमा उज्यालो दृश्य देखियो । नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो)ले सम्भावित रूपमा चीनबाट प्रक्षेपण गरिएको रकेट पृथ्वीबाट करिब २००–४०० किलोमिटर उचाइमा पुगेपछि त्यसको धुवाँ सूर्यको प्रकाशले उज्यालो भएर देखिएको घटना रहेको जनाएको छ ।

“आकाशमा देखिएको उज्यालो दृश्य वास्तवमा नेपालमाथि उडेको रकेट होइन । सम्भावित रूपमा चीनबाट प्रक्षेपण गरिएको रकेट पृथ्वीबाट करिब २००–४०० किलोमिटर उचाइमा पुगेपछि त्यसको धुवाँ सूर्यको प्रकाशले उज्यालो भएर देखिएको घटना हो,” नासोले आफ्नो सामाजिक सञ्जालमा लेखेको छ ।

नासोका अनुसार, रकेट यति धेरै उचाइमा पुगेपछि त्यसबाट निस्कने ग्यास धेरै फैलिन्छ र पृथ्वीका हजारौँ किलोमिटर टाढासम्मबाट पनि देखिन सक्छ । त्यसैले नेपाल, भुटान, भारतको असम लगायतका क्षेत्रबाट पनि एकै समयमा यो दृश्य देखिएको हुन सक्ने बताएको छ ।

नासोले थप लेखेको छ, “महत्त्वपूर्ण कुरा के हो भने, यस्तो अवस्थामा रकेट नेपालमाथि उडिरहेको हुँदैन । त्यो धेरै टाढा, सम्भवतः नेपालभन्दा उत्तरतर्फ चीन वा तिब्बतको आकाशमाथि रहेको हुन्छ । तर, अत्यन्त उचाइका कारण यसको उज्यालो धुवाँ नेपालबाट पनि देखिन्छ ।”

यस प्रकारको घटनालाई वैज्ञानिक भाषामा ट्वाइलाइट रकेट प्लुम भनिन्छ, जुन उपग्रह प्रक्षेपणका क्रममा कहिलेकाहीँ देखिने सामान्य खगोलीय दृश्य हो ।

https://www.facebook.com/NASONepal/posts/1408762587942466?ref=embed_post

 

प्रकाशित मिति: २ चैत्र २०८२, सोमबार  ०७ : ०७  बजे