काठमाडौं, २ चैत्र । पाकिस्तानसँगको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला बङ्गलादेशले जितेको छ । ढाकामा हिजो भएको तेस्रो तथा अन्तिम खेलमा पाकिस्तानलाई ११ रनले हराउँदै बङ्गलादेशले २–१ ले शृङ्खला जितेको हो ।
बङ्गलादेशले दिएको २९१ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २७९ मात्र बनाउन सक्यो । पाकिस्तानका सलमान अली आगाले ९८ बलमा १०६ रन बनाए पनि जीतका लागि पर्याप्त भएन । बङ्गलादेशका तास्किन अहमदले ४ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको बङ्गलादेशले ५० ओभरमा ५ विकेट गुमाएर २९० रन बनाएको थियो । बङ्गलादेशका तन्जिद हसन तमिमले १०७ रन बनाए । पाकिस्तानका हरिस रउफले ३ विकेट लिए ।
शृङ्खलाको पहिलो खेल बङ्गलादेशले ८ विकेटले जितेको थियो भने दोस्रो खेलमा पाकिस्तान डकवर्थ लुइस नियमका आधारमा १२८ रनले विजयी भएको थियो ।
बङ्गलादेशले ११ वर्षपछि पाकिस्तानसँगको एकदिवसीय शृङ्खला जितेको हो । यसअघि सन् २०१५ मा पाकिस्तानसँगको तीन खेलको एकदिवसीय शृङ्खलामा बङ्गलादेशले क्लिन स्वीप गरेको थियो ।







प्रतिक्रिया