रास्वपा, कांग्रेस र नेकपाको बैठक आज

काठमाडौं, १ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै छ। उपसभापति डोलप्रसाद अर्यालका अनुसार प्रतिनिधि सभाको समानुपातिकतर्फको सूची तय गर्नका लागि सचिवालय बैठक बस्ने भएको हो। उहाँले बैठकले समानुपातिकतर्फ सूची तय गरेपछि निर्वाचन आयोगमा बुझाउने जानकारी दिनुभयो। सभापति रवि लामिछानेको स्वास्थ्य प्रतिकूल भएपछि शनिबारका लागि आह्वान गरिएको सचिवालय बैठक आइतबार सारिएको हो। रास्वपाले प्रत्यक्षतर्फ १२५ स्थानमा विजयी हासिल गर्दा समानुपातिकतर्फ ५७ सिट प्राप्त गरेको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ।

कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक सूची तय गर्न केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्न लागेको हो। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारमध्ये दलले प्राप्त गरेको सिट सङ्ख्याका आधारमा प्रतिनिधि सभा सदस्य छनोट गरी निर्वाचन आयोगमा पठाउने निर्णय गर्ने छ।नेपाली कम्युनिस्ट पार्टी नेकपाले प्रतिनिधि सभा सदस्यतर्फ समानुपातिकको सूची आइतबार टुङ्गो लगाउने भएको छ। निर्वाचन आयोगले तीन दिनभित्र समानुपातिकको नाम टुङ्गो लगाउन पत्र पठाएपछि नेकपाले आइतबार बैठक बसेर अन्तिम सूची तय गर्ने भएको हो। नेकपाको प्रत्यक्षतर्फ आठ सिट पाएको छ भने समानुपातिकमा नौ सिट मात्रै पाएको छ।

नेकपा कार्यालयका सचिव गोविन्द आचार्यले पार्टीबाट समानुपातिक सांसद हुनेको नाम आइतबार बैठक बसेर टुङ्गो लगाउने जानकारी दिनुभयो। एमालेले हिजै आफ्नो भागमा परेका १६ जनाको नाम सिफारिस गरिसकेको छ भने श्रम संस्कृति पार्टीले पनि ४ जनाको नाम सिफारिस गरेर पठाइसकेको छ।

प्रकाशित मिति: १ चैत्र २०८२, आइतबार  ०७ : २६  बजे