ग्यास र सवारी इन्धनको कृत्रिम अभाव गरिए कारबाही हुने : काठमाडौं महानगरपालिका

काठमाडौं, ३० फागुन। काठमाडौं महानगरपालिकाले खाना पकाउने ग्यास तथा सवारीसाधनमा प्रयोग हुने इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्नेमाथि कडा कारबाही गरिने चेतावनी दिएको छ।

बजारमा ग्यास हुँदाहुँदै पनि छैन भन्दै ग्राहकलाई नदिने, ग्यास पाइँदैन भन्दै बढी मूल्य असुल्ने तथा इन्धन डिपोहरूमा तेल मौज्दात हुँदाहुँदै उपभोक्तालाई फर्काउने गुनासो बढेपछि महानगरपालिकाले निगरानी संयन्त्र सक्रिय बनाएको जनाएको छ।

महानगरपालिकाको प्रशासन विभागका प्रमुख महेश काफ्लेले ग्यास अभावको गलत सूचना फैलाएर बढी मूल्य लिने तथा सर्वसाधारणको जनजीवनमा असहज अवस्था सिर्जना गर्ने कार्यमा संलग्नमाथि कारबाही गरिने बताउनुभयो।

उहाँले भन्नुभयो, “ग्यास छैन भन्ने गलत सूचना फैलाएर मूल्य बढाउने तथा कृत्रिम अभाव सिर्जना गर्ने काम सह्य हुँदैन। यस्तो गतिविधिमा संलग्न जो–कोहीमाथि कारबाही गरिनेछ।”

उहाँका अनुसार नेपाल आयल निगमले आधा सिलिन्डर ग्यासको मूल्य ९५५ रुपैयाँ तोकेको छ। सोही मूल्यमा ग्यास खरिदबिक्री गर्न व्यवसायी तथा उपभोक्तालाई महानगरपालिकाले आग्रह गरेको छ।

काफ्लेले ग्यास अभाव हुने आशंकामा उपभोक्ताले अत्यधिक भण्डारण गर्न थालेका कारण पनि बजारमा अभाव देखिएको बताउनुभयो। अत्यधिक सञ्चिति गर्दा माग र आपूर्तिको चक्रमा असर पर्ने उहाँको भनाइ छ।

यसैगरी केही पेट्रोल पम्पहरूले आफूसँग मौज्दात इन्धन हुँदाहुँदै पनि छैन भन्दै सवारीसाधनलाई उपलब्ध नगराएको गुनासो आएको भन्दै महानगरपालिकाले यस विषयमा पनि निगरानी सुरु गरेको जनाएको छ।

ग्यास र इन्धनको कृत्रिम अभाव सिर्जना गरिएको देखिएमा तथ्यसहित महानगरपालिकाको हटलाइन नम्बर ११८० मा जानकारी गराउन सकिने व्यवस्था मिलाइएको छ। प्राप्त सूचनाका आधारमा अनुगमन गरी आवश्यक कारबाही गरिने जनाइएको छ।

यसैबीच, ग्यास बिक्रेता महासंघ नेपालका अध्यक्ष ज्ञानेश्वर अर्यालले भारतबाट आउने ग्यास आपूर्ति हालसम्म नियमित रहेको जानकारी दिनुभयो। उहाँले उपभोक्तालाई अनावश्यक रूपमा ग्यास सञ्चिति नगर्न पनि आग्रह गर्नुभएको छ।

प्रकाशित मिति: ३० फाल्गुन २०८२, शनिबार  १९ : १८  बजे