उत्तर कोरियाद्वारा जापानी समुद्रमा दश वटा ब्यालेस्टिक मिसाइल प्रहार

सियोल, ३० फागुन । उत्तर कोरियाले शनिबार जापानको समुद्र क्षेत्रमा करिब दश वटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको सियोलको संयुक्त चिफ अफ स्टाफ (जेसीएस) ले बताएको छ । सियोलको सेनाले उत्तर कोरियाको सुनान क्षेत्रबाट पूर्वी सागर तर्फ दिउँसो १ः२० बजे ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको जेसीएसले विज्ञप्ति मार्फत जनाएको हो ।

मिसाइल करिब ३५० किलोमिटरको दूरीमा प्रहार गरिएको छ । दक्षिण कोरियाली सेना ‘कुनै पनि उक्साहटको जवाफ दिन’ तयार रहेको जेसीएसले जनाएको छ । जापानको रक्षा मन्त्रालयले सामाजिक सञ्जाल एक्समा प्रक्षेपणको पुष्टि गर्दै ब्यालेस्टिक क्षेप्यास्त्र उत्तर कोरियाबाटै प्रक्षेपण गरिएको पुष्टि गरेको छ ।

दक्षिण कोरियाली प्रधानमन्त्री किम मिन–सिओकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्योङयाङका नेता किम जोङ(उनसँग भेटवार्ता हुने निर्णयको केही समय पछि यो घोषणा आएको हो । वासिङ्टनले दशकौ देखि उत्तर कोरियाको आणविक कार्यक्रमलाई ध्वस्त पार्ने प्रयासको नेतृत्व गरिरहेको जनाइएको छ ।

ट्रम्प प्रशासनले पछिल्ले समयमा प्योङयाङसँग उच्चस्तरीय वार्तालाई पुनर्जीवित गर्न दबाब दिएको छ । अक्टोबरमा एसियाको भ्रमणका क्रममा ट्रम्पले किम जोङ–उनसँगको भेटका लागि खुला रहेको बताउनु भएको थियो भने उत्तर कोरियाले टिप्पणीको जवाफ नदिएको बताइएको थियो ।

महिनौंसम्म ती प्रस्तावलाई धेरै हदसम्म बेवास्ता गरे पछि किम जोङ उनले हालै वासिङ्टनले प्योङयाङको आणविक स्थितिलाई स्वीकार गरेमा दुई राष्ट्रबिच मेलमिलाप हुन सक्ने बताउनु भएको छ । हाल विश्वको ध्यान मध्यपूर्वको युद्धमा केन्द्रित रहेको अवस्थामा उत्तर कोरियाले आफ्नो उपस्थितिमा ध्यान आकर्षित गर्न ऐतिहासिक रूपमा सैन्य उक्साहट गरेको कोरिया इन्स्टिच्युट फर मिलिटरी अफेयर्सका वरिष्ठ अनुसन्धानकर्ता होङ सुङ–पियोलाई उदृत गर्दै एएफपीले जनाएको छ ।

सन् १९५० मा आफ्नो छिमेकी माथि आक्रमण गरी कोरियाली युद्ध सुरु गरेको परमाणु–सशस्त्र उत्तर–कोरियाले लामो समय देखि यस्तो अभ्यासलाई आक्रमणको रूपमा वर्णन गर्दै आएको छ । प्योङयाङले इरानमाथि भएको अमेरिका–इजरायली आक्रमणलाई आक्रमणको अवैध कार्य भन्दै निन्दा गरेको छ भने यसले अमेरिकाको दुष्ट प्रकृतिलाई देखाउने दाबी गरेको छ ।

 

प्रकाशित मिति: ३० फाल्गुन २०८२, शनिबार  १७ : ४०  बजे