किशोरी हत्या प्रकरण : न्याय माग्दै विद्यार्थीहरूले प्रदर्शन गरे

काठमाडौं, २९ फागुन।  सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया किशोरीको हत्यापछि न्यायको मागसहित आज विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । कक्षा ११ मा अध्ययनरत किशोरीको हत्यापछि उनका साथीहरूले जिल्ला प्रहरी कार्यालय सुर्खेत अगाडि प्रदर्शन गरेका हुन् ।

विद्यार्थीहरूले निष्पक्ष छानबिनसहित घटनाको सत्यतथ्य सार्वजनिक गर्न, दोषीलाई कारबाही गर्न र पीडित परिवारलाई न्याय दिन माग गरेका छन् । पीडित परिवारलाई न्याय दिलाउन राज्यका सम्बन्धित निकाय गम्भीर हुनुपर्ने विद्यार्थीहरूको माग छ । सरकारलाई दबाव दिन काठमाण्डौको माइतीघरमा पनि प्रदर्शन भएको छ ।

प्रारम्भिक अनुसन्धानमा १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या भएको र यसबारेमा थप अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले गरिरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

गएको फागुन २३ गते बिहान किशोरीको शव जनजागरण सामुदायिक वनमा फेला परेको थियो ।

प्रकाशित मिति: २९ फाल्गुन २०८२, शुक्रबार  १६ : १८  बजे