काठमाडौं, २९ फागुन । आकाशमै इन्धन भर्न प्रयोग हुने अमेरिकी सैन्य विमान दुर्घटना भएको छ।इरानविरूद्ध अमेरिका–इसराइलको संयुक्त सैन्य कारबाहीमा प्रयोग भइरहेको केसी(१३५ विमान बिहीबार पश्चिमी इराकको मरूभूमी क्षेत्रमा खसेको हो।
अमेरिको सेनाको मध्य कमान्ड (सेन्ट्रल कमान्ड)ले इन्धन भर्न दुइटा विमान प्रयोग भइरहेको र एउटा विमान दुर्घटना भएको जानकारी दिएको अमेरिकी अखबार द न्युयोर्क टाइम्सले जनाएको छ।अर्को विमान भने सुरक्षित अवतरण गर्न सफल भएको पनि सेन्ट्रल कमान्डले जनाएको छ।यो विपक्षी आक्रमण वा आफ्नै सेनाका फ्रेन्ड्ली फायरबाट पनि दुर्घटना नभएको पनि सेन्ट्रल कमान्डले जनाएको छ।
केही सञ्चारमाध्यमहरूले इरानको आक्रमणबाट उक्त विमान खसालेको भनेर लेखेका छन्। यद्यपि सेन्टकमले वाह्य हमलाबाट विमान दुर्घटना नभएको बताएको छ।दुर्घटनाग्रस्त विमानमा कम्तिमा ३ देखि ५ जना चालक दलका सदस्य हुने गर्छन्। उक्त विमानमा भने कति जना थिए भनेर खुलेको छैन। उनीहरूको अवस्थाबारे पनि सेन्ट्रल कमान्डले सार्वजनिक गरेको छैन। उसले उद्दारको काम भइरहेको बताएको छ।
केसी–१३५ अमेरिकी वायुसेनामा सबैभन्दा धेरै प्रयोग हुने र पुराना विमानमध्ये एक मानिन्छ। यी विमानहरू लडाकु जेट, निगरानी विमान तथा कार्गो विमानलाई आकाशमै इन्धन भर्ने (एयर–टु–एयर रिफ्युलिङ) कार्यका लागि प्रयोग गरिन्छ।वायुसेनाले यस्तो प्रकारको इन्धन भर्ने उडान नियमित रूपमा सञ्चालन गरे पनि दुर्घटना भने विरलै हुने गर्छ। तर खराब मौसम वा तीव्र हावाहुरीका अवस्थामा यस्तो कार्य जटिल हुने अधिकारीहरू बताउँछन्।प्रारम्भिक अनुसन्धानकर्ताहरूले दुई विमान हावामै ठोक्किएको हुन सक्ने सम्भावनामा पनि अध्ययन गरिरहेको जनाएका छन्।









प्रतिक्रिया