मध्यपूर्व युद्धका कारण म्यान्माको सङ्कट थप गहिरिने जोखिम

काठमाडौं, २८ फागुन । संयुक्त राष्ट्रसङ्घका एक शीर्ष विज्ञले मध्यपूर्वमा जारी युद्ध र सहायतामा विश्वव्यापी ध्यान केन्द्रित हुँदा म्यान्माको मानवअधिकार उल्लङ्घन र मानवीय सङ्कट अझ भयावह हुने चेतावनी दिनुभएको छ ।

म्यान्माका लागि संयुक्त राष्ट्रसङ्घका विशेष प्रतिवेदक टम एन्ड्रयुजले एएफपीलाई दिएको अन्तर्वार्तामा म्यान्माको सैन्य जुन्ताले नागरिकमाथि निरन्तर आक्रमण गरिरहेको र मानवीय सहायतामा अवरोध पुर्‍याइरहेको बताउनुभएको हो । एन्ड्रयुजले भन्नुभयो,‘मध्यपूर्वको युद्धले म्यान्माको सङ्कटलाई नाटकीय रूपमा बढाउने जोखिम छ ।

यसले अन्तर्राष्ट्रिय दृष्टिकोणबाट म्यान्मालाई अझ बढी ओझेलमा पार्न सक्छ । अहिलेको अवस्था निकै बिग्रिएको छ र यो अझ खराब हुन सक्छ ।’ हार्वर्ड विश्वविद्यालयको दक्षिणपूर्वी एसिया मानवअधिकार परियोजनाका प्रमुख एन्ड्रयुज अमेरिकी पूर्वसांसदसमेत हुनुहुन्छ ।

गत फेब्रुअरी २८ मा इरानमाथि भएको हवाई आक्रमणपछि मध्यपूर्वमा सुरु भएको युद्धअघि नै म्यान्मामा मानवीय सहायतामा उल्लेख्य कमी आएको उहाँले औँल्याउनुभएको छ । विश्वव्यापी रूपमा अन्तर्राष्ट्रिय कोषमा भएको सहायता कटौतीका कारण म्यान्माको स्थिति पहिले नै कमजोर बनेको थियो ।

अन्तर्राष्ट्रिय ध्यान र स्रोतहरू मध्यपूर्वमा केन्द्रित हुँदा म्यान्माले पाउने सहायता अब अझ घट्ने सम्भावना छ । विशेष प्रतिवेदक एन्ड्रयुजले म्यान्मामा अधिकारको रक्षा र सहायताका लागि काम गरिरहेको संयुक्त राष्ट्रसङ्घ नै यतिबेला ुघेराबन्दीमाु परेको महसुस भएको बताउनुभयो ।

उहाँले अन्तर्राष्ट्रिय सम्बन्धलाई विशुद्ध ‘लेनदेन’ का रूपमा हेरिएको तथ्यको निन्दा गर्दै ‘शक्ति नै सत्य हो’ भन्ने मान्यता स्वीकार गर्ने संसार असाधारण रूपमा खतरनाक हुने उल्लेख गर्नुभयो । म्यान्माको अवस्था अहिले निकै भयावह छ। सन् २०२१ मा सेनाले सत्ता कब्जा गरेको पहिलो वर्षमा नागरिक लक्षित नौवटा हवाई आक्रमण भएका थिए ।

तर, गत वर्ष मात्रै सर्वसाधारणलाई निशाना बनाएर एक हजार १४० वटा हवाई आक्रमण भएका छन् । ‘मानिसहरू केवल गृहयुद्धको द्वन्द्वमा मात्र फसेका छैनन्, उनीहरूलाई योजनाबद्ध रूपमा निशाना बनाइएको छ,’ एन्ड्रयुजले भन्नुभयो । यद्यपि, हालैका वर्षहरूमा अन्तर्राष्ट्रिय दबाबका कारण सैन्य जुन्तामा हुने हतियारको प्रवाहमा भने केही कमी आएको उहाँले जानकारी दिनुभएको छ । एजेन्सी

प्रकाशित मिति: २८ फाल्गुन २०८२, बिहिबार  २० : २१  बजे