निर्वाचन खर्च विवरण ३५ दिनभित्र सार्वजनिक गर्न आयोगको निर्देशन

काठमाडौं, २८ फागुन । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी तथा खर्चको विवरण ३५ दिनभित्र सार्वजनिक गर्न निर्देशन दिएको छ । २०८२ फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र यस्तो विवरण बुझाउन आयोगले ताकेता गरेको हो ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) बमोजिम पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फका उम्मेदवारले सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा र समानुपातिकतर्फका राजनीतिक दलले आयोगले तोकेको ढाँचामा खर्च विवरण पेस गर्नुपर्ने कानुनी व्यवस्था छ ।

यस्तै निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ३१ को उपदफा (२) बमोजिम खर्चको विवरण सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्नुपर्नेछ । राजनीतिक दल र उम्मेदवारले निम्नमध्ये कुनै एक माध्यमबाट खर्च विवरण सार्वजनिक गरी सोको फोटो वा स्क्रिनसटसहितको प्रमाण आयोग वा सम्बन्धित निर्वाचन कार्यालयमा बुझाउनुपर्नेछ ।

आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा तोकिएको समयभित्र खर्चको विवरण नबुझाउने, सार्वजनिक नगर्ने वा सार्वजनिक गरेको प्रमाणसहित जानकारी नदिने राजनीतिक दल तथा उम्मेदवारलाई निर्वाचन (कसूर तथा सजाय) ऐन बमोजिम कारबाही हुने चेतावनीसमेत दिइएको छ ।

प्रकाशित मिति: २८ फाल्गुन २०८२, बिहिबार  २० : १४  बजे