नेपाली औषधि उद्योगीहरूले उच्च गुणस्तरीय औषधि निर्माण गरिरहेका छन् : अध्यक्ष अधिकारी

काठमाडौं, २८ फागुन । नेपाल औषधि उत्पादक संघ (एपोन) का अध्यक्ष विप्लव अधिकारीले नेपाली औषधि उद्योगको उपलब्धिहरूको चर्चा गर्दै उच्च गुणस्तरमा उत्पादन भइरहेको बताउनुभएको छ । नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटनका क्रममा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो,‘हामी गर्व गर्छौं कि नेपाली औषधि उद्योगीहरूले उच्च गुणस्तरीय औषधि निर्माण गरिरहेका छन् । आज करिब ५० प्रतिशत औषधि बजारमा नेपालीहरूले प्रयोग गरिरहेका छन् भने उत्पादनको हिसाबले करिब ७० प्रतिशत औषधि स्वदेशमै बनाइरहेका छौं । यो केवल गर्वको विषय मात्र होइन, देशलाई औषधिमा आत्मनिर्भर बनाउने ज्वलन्त उदाहरण पनि हो ।’

अधिकारीले एक्स्पोको उद्देश्य औषधि निर्माणमा प्रयोग हुने विश्वव्यापी प्रविधि र नविनतम उपकरणहरू प्रदर्शन गर्नु रहेको उल्लेख गर्नुभयो । ‘यस एक्सपोले नेपाली औषधि उद्योगको क्षमता, संवेदनशीलता र गुणस्तरको प्रमाण देखाउने अवसर दिनेछ । नेपाली औषधि अब विश्व परिवेशमा प्रतिस्पर्धा गर्न सक्षम छ र झन्डै १४ मुलुकमा निर्यात भइसकेको छ,’ उहाँले भन्नुभयो ।

उहाँले उपस्थित सबै सरोकारवालाहरूसँग आग्रह गर्दै देशमा आवश्यक औषधि उत्पादन र प्रवर्द्धनका लागि नीतिगत सुधार र नविन नीतिहरू अपनाउनु जरुरी रहेको बताउनुभएको छ । उहाँले स्वास्थ्य र औषधि क्षेत्रलाई अझ सशक्त र अब्बल बनाउने बताउनुभयो ।

प्रकाशित मिति: २८ फाल्गुन २०८२, बिहिबार  १९ : १०  बजे