काठमाडौं, २८ फागुन । एमाले अध्यक्ष केपी शर्मा ओलीले यस पटकको निर्वाचनमा आफूले अपेक्षा गर्नुभएको जस्तो परिणाम प्राप्त गर्न नसकेको बताउनुभएको छ। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उहाँले लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुने भएकाले त्यसलाई पूर्ण सम्मानका साथ स्वीकार गर्ने उल्लेख गर्नुभएको हो।
उहाँले भन्नुभयो, “यस पटकको निर्वाचनमा मैले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिनँ। हाम्रो पार्टीले पनि अपेक्षित परिणाम ल्याउन सकेन। लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ र त्यो फैसला शिरोधार्य गर्नु मेरो र मेरो पार्टीको कर्तव्य हो। जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु।”
यस कठिन परिस्थितिमा पनि सूर्य चिन्हमा मतदान गरेर आफ्नो पक्षमा उभिनुहुने सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकहरूप्रति उहाँले हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ।
उहाँले भन्नुभएको छ, “यस कठिन घडीमा पनि सूर्य चिन्हमा मतदान गरेर हाम्रो पक्षमा उभिनुहुने सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकहरूप्रति म हार्दिक धन्यवाद व्यक्त गर्दछु। तपाईंहरूको विश्वास नै हाम्रो शक्ति हो, तपाईंहरूको साथ नै हाम्रो ताकत हो।”
निर्वाचनको परिणाम आफ्नो पार्टीको पक्षमा नआए पनि जनताप्रतिको प्रतिबद्धता र सेवाभाव कत्ति पनि कमजोर नभएको उहाँको भनाइ छ। उहाँले आगामी दिनमा पनि जनताकै बीचमा रहेर काम गर्ने र विश्वासको सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
उहाँले भन्नुभयो, “निर्वाचनको परिणाम हाम्रो पक्षमा आएन। तर जनताप्रतिको हाम्रो प्रतिबद्धता र सेवाभाव कत्ति पनि कमजोर भएको छैन। हामी जनताकै बीचमा रहनेछौँ, जनताकै लागि काम गरिरहनेछौँ र विश्वासको यो सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्नेछौँ।”









प्रतिक्रिया