गौर, २६ फागुन । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत रौतहट जिल्लामा १ सय २८ जना उम्मेदवारको जमानत जफत भएको छ भने २२ हजारभन्दा बढी मत बदर भएको छ । रौतहट जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा कुल १ सय ४२ जना उम्मेदवारले मनोनयन दर्ता गराएकामध्ये मात्र १४ जना उम्मेदवारले मात्र जमानत बचाउन सफल हुनुभएको हो ।
कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसक्दा जमानत जफत हुने कानुनी प्रावधान अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा ३९ जना उम्मेदवार मध्ये ३४ जना निर्वाचन क्षेत्र नम्बर २ मा २६ उम्मेदवार मध्ये २३ जनाको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ ।
निर्वाचन क्षेत्र नम्बर ३ मा ४० उम्मेदवारमध्ये ३७ जना र निर्वाचन क्षेत्र नम्बर ४ मा ३७ उम्मेदवार मध्ये ३४ जनाको जमानत जफत भएको जिल्ला निर्वाचन अधिकारी छोटेलाल दासले बताउनुभयो ।
निर्वाचनमा कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेदवारको धरौटी रकम जफत हुने व्यवस्था रहेको समेत जिल्ला निर्वाचन अधिकारी दासले जानकारी दिनुभयो । चार निर्वाचन क्षेत्रमा चार लाख ३६ हजार ६११ मतदातामध्ये दुई लाख ९२ हजार ५२९ मत खसेकोमा २२ हजार ९ सय ९३ मत बदर भएको आयोगले जनाएको छ ।









प्रतिक्रिया