ऊर्जा संकटसँग जुध्न युरोपलाई तेल र ग्यास आपूर्ति गर्ने पुटिनको प्रस्ताव

काठमाडौं, २६ फागुन । विश्व बजारमा तेलको मूल्य प्रति ब्यारेल ११४ डलर नाघेपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपलाई पुनः तेल र ग्यास आपूर्ति गर्न सकिने प्रस्ताव अघि सारेका छन् । अमेरिका–इजरायल र इरानबीचको युद्धका कारण हर्मुज जलमार्गबाट हुने ढुवानी ठप्प भएपछि विश्वभर ऊर्जा संकट चुलिएको बेला पुटिनले यस्तो प्रस्ताव गरेका हुन् ।

सोमबार सरकारी अधिकारीहरू र रुसका प्रमुख तेल तथा ग्यास उत्पादकहरूसँगको बैठकमा बोल्दै राष्ट्रपति पुटिनले युरोपेली ग्राहकहरूले चाहेमा दीर्घकालीन सहकार्यका लागि मस्को तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘यदि युरोपेली कम्पनी र क्रेताहरूले राजनीतिक दबाबमुक्त भई दीर्घकालीन र दिगो सहकार्य गर्न चाहेमा हामीले कहिल्यै इन्कार गरेका छैनौँ ।’

रुसले युक्रेनमाथि आक्रमण गरेपछि युरोपले रुसी ऊर्जामाथिको निर्भरता उल्लेख्य रूपमा घटाएको थियो ।

तेलको मूल्यमा कीर्तिमानी उछाल

मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यले नयाँ उचाइ लिएको छ । आइतबार ब्रेन्ट क्रुडको मूल्य ३० प्रतिशतभन्दा बढीले बढेर प्रति ब्यारेल ११९ डलरसम्म पुगेको थियो ।

विश्वको कुल तेल र तरल प्राकृतिक ग्यास (एलएनजी) को करिब पाँचौँ हिस्सा ओगट्ने हर्मुज जलमार्ग इरानले बन्द गरिदिएपछि आपूर्तिमा ठूलो अवरोध आउने डरले बजार आतंकित बनेको हो । राष्ट्रपति पुटिनले आफ्ना कम्पनीहरूलाई मध्यपूर्वको यो संकटबाट फाइदा लिन निर्देशन समेत दिएका छन् ।

युरोपको बदलिँदो अवस्था र प्रतिबन्धहरू

युक्रेन युद्ध अघि युरोपले आफ्नो कुल ग्यास आवश्यकताको ४० प्रतिशतभन्दा बढी रुसबाट खरिद गर्ने गर्दथ्यो। तर, सन् २०२५ सम्म आइपुग्दा यो हिस्सा १३ प्रतिशतमा खुम्चिएको छ । सन् २०२२ मा ईयूले समुद्री मार्गबाट हुने रुसी कच्चा तेल आयातमा प्रतिबन्ध लगाएको थियो भने युक्रेन हुँदै जाने ड्रुज्बा पाइपलाइनमा क्षति पुगेपछि हंगेरी र स्लोभाकियातर्फको आपूर्ति पनि गत जनवरीदेखि ठप्प छ ।

युरोपेली बजार गुमेपछि रुसले हाल एसियाली मुलुकहरूलाई भारी छुटमा तेल र ग्यास बिक्री गर्दै आएको छ । बढ्दो मूल्यको प्रतिकार गर्न हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले युरोपेली संघलाई रुसी तेल र ग्यासमाथिको प्रतिबन्ध हटाउन आग्रह गरेका छन् ।

यता जी–७ राष्ट्रहरूले तेलको मूल्य वृद्धिको सामना गर्न आवश्यक कदम चाल्ने बताएका छन्, तर आपतकालीन भण्डार खोल्ने विषयमा भने हालसम्म कुनै ठोस प्रतिबद्धता जनाएका छैनन् । पुटिनले भने युरोपले पूर्ण प्रतिबन्ध लगाउनुअघि नै रुसी ग्यासको प्रवाह अन्यत्र मोड्ने विषयमा पनि विचार गरिरहेको बताएका छन् ।

प्रकाशित मिति: २६ फाल्गुन २०८२, मंगलबार  १३ : ४१  बजे