कुवेतका आधिकारिक निकायले जारी गरेका निर्देशन पालना गर्न दूतावासको अनुरोध

काठमाडौं, २५ फागुन । कुवेतमा रहेको नेपाली दूतावासले त्यहाँको आधिकारिक निकायहरूले जारी गरेका सूचना तथा निर्देशन पालना गर्न अनुरोध गरेको छ । दूतावासले सूचना निकालेर मध्यपूर्वी क्षेत्रमा विकसित परिस्थितिलाई ख्याल गरेर सजगता अपनाउन नेपालीहरुलाई अनुरोध गरेको हो ।

इजरायल र अमेरिकाले इरानमा आक्रमण गरेपछि कुवेतमा रहेको नेपाली दूतावासले तेस्रो पटक यस्तो आग्रह गरेको हो । कुवेतको हवाई क्षेत्र खुलेपछि मात्र नियमित उडान शुरू हुने भएकाले त्यसबारे अद्यावधिक सूचनाका लागि कुवेतको उड्डयन प्राधिकरणको वेबसाइट हेर्न तथा आफ्नो सम्बन्धित वायुसेवा प्रदायक ट्राभल एजेन्सीसँग सम्पर्क गरिराख्न दूतावासको अनुरोध छ ।

कुवेत सरकारले त्यहाँ रहेका भिजिट भिसाबाहेक सबैको भिसा एक महिनाका लागि थप गरेको छ । यस्तै कुवेत बाहिर रहेका कुवेतको सिभिल आईडीवाहकका हकमा विगतको कम्पनीमा काम गर्नेहरूका हकमा ६ महिना र घरेलु कामदारका हकमा ४ महिनाभन्दा बढी कुवेत बाहिर बस्दा सिभिल आईडी रद्द हुने व्यवस्था परिमार्जन गर्दै ४ महिनामा अरू ३ महिना थप गरेको दूतावासले जनाएको छ ।

कुवेतमा रहेका नेपालीलाई कन्सुलर तथा अन्य सेवा आवश्यक परेको अवस्थामा अत्यावश्यक सेवाका लागि नेपाली दूतावास नियमित खुला रहेको पनि दूतावासले जनाएको छ । कुवेतमा अहिले झन्डै १ लाख ७५ हजार नेपाली रहेका अनुमान छ ।

प्रकाशित मिति: २५ फाल्गुन २०८२, सोमबार  २१ : ०७  बजे