काठमाडौँ, २४ फागुन । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा हालसम्म १४ जना महिला उम्मेदवार प्रत्यक्षतर्फ निर्वाचित भई संघीय संसदमा प्रवेश गर्न सफल हुनुभएको छ। कुल ३९१ जना महिला उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएको अवस्थामा प्रत्यक्षतर्फ सीमित संख्यामा मात्र महिलाहरू निर्वाचित हुनुले नेपालको संसदीय राजनीतिमा महिला प्रतिनिधित्व अझै कमजोर रहेको संकेत गरेको छ।
हालसम्मको परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित ११९ जनामध्ये १३ जना महिला सांसद हुनुहुन्छ भने नेपाली कांग्रेसबाट निर्वाचित १७ जनामध्ये एक जना मात्र महिला सांसद निर्वाचित हुनुभएको छ। यसरी प्रत्यक्षतर्फ निर्वाचित १४ महिलामध्ये बहुमत रास्वपाबाट आएको देखिएको छ। निर्वाचित महिलामध्ये सात जना ४० वर्ष मुनिका हुनुहुन्छ, जसले संसदमा नयाँ पुस्ताको उपस्थिति बलियो भएको संकेत दिएको छ।
नेपाली कांग्रेसका तर्फबाट दैलेख क्षेत्रबाट बासना थापा निर्वाचित हुनुभएको छ। ४५ वर्षीया थापा यसअघि २०७४ सालमा दैलेखको नारायणी नगरपालिकाको उपप्रमुख पदमा उम्मेदवार बन्नुभएको थियो तर पराजित हुनुभएको थियो। लामो समयपछि दैलेखमा कांग्रेसले प्रतिनिधिसभामा उम्मेदवारी दिँदा यस पटक उहाँले विजय हासिल गर्नुभएको हो।
कोशी प्रदेशमा रास्वपाका चार महिला विजयी
कोशी प्रदेशबाट राष्ट्रिय स्वतन्त्र पार्टीका चार महिला उम्मेदवार निर्वाचित हुनुभएको छ। झापा–१ बाट २९ वर्षीया निशा डाँगी निर्वाचित हुनुभएको छ। उहाँ यसअघि समानुपातिक सांसद तथा पार्टीको सचेतकको जिम्मेवारी सम्हाल्नुभएको थियो र पत्रकारिता पृष्ठभूमिबाट राजनीतिमा आउनुभएको हो।
झापा–२ बाट ५५ वर्षीया इन्दिरा रानामगर विजयी हुनुभएको छ। उहाँ यसअघि समानुपातिक सांसद तथा उपसभामुखको जिम्मेवारी सम्हालिसक्नुभएको छ। सामाजिक क्षेत्रमा विशेष गरी कारागारमा रहेका बालबालिकाको शिक्षा र संरक्षणका लागि उहाँले लामो समयदेखि काम गर्दै आउनुभएको छ।
मोरङ–५ बाट ४२ वर्षीया आशा झा निर्वाचित हुनुभएको छ। उहाँ मधेसी महिलाको अधिकार तथा सामाजिक न्यायका मुद्दामा सक्रिय रहँदै आउनुभएको छ। मोरङ–६ बाट ३१ वर्षीया रुबिना आचार्य विजयी हुनुभएको छ। उहाँले महामारीको समयमा ‘तातो भात अभियान’ सञ्चालन गरी सामाजिक सेवामा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो।
मधेस प्रदेशमा तीन महिला सांसद
मधेस प्रदेशबाट पनि रास्वपाका तीन महिला उम्मेदवार निर्वाचित हुनुभएको छ। सप्तरी–१ बाट ३६ वर्षीया पुष्पाकुमारी चौधरी निर्वाचित हुनुभएको छ। सर्लाही–१ बाट ४३ वर्षीया नितिमा भण्डारी कार्की विजयी हुनुभएको छ भने महोत्तरी–४ बाट ५४ वर्षीया गौरीकुमारी संसदमा प्रवेश गर्नुभएको छ।
बागमती प्रदेशमा चार महिला सांसद
बागमती प्रदेशबाट पनि चार महिला उम्मेदवार प्रत्यक्षतर्फ विजयी हुनुभएको छ। धादिङबाट ३६ वर्षीया आशिका तामाङ निर्वाचित हुनुभएको छ। काठमाडौं–१ बाट ३० वर्षीया रञ्जु दर्शना न्यौपानेले उल्लेखनीय विजय हासिल गर्नुभएको छ।
ललितपुर–३ बाट ३६ वर्षीया डा. तोसिमा कार्की पुनः निर्वाचित हुनुभएको छ। उहाँ यसअघि स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएको छ। चितवन–३ बाट ३० वर्षीया सोबिता गौतम पनि विजयी हुनुभएको छ।
गण्डकी र सुदूरपश्चिमबाट एक–एक महिला
गण्डकी प्रदेशको कास्की–३ बाट ५३ वर्षीया बिना गुरुङ निर्वाचित हुनुभएको छ। उहाँ व्यवसायी हुनुका साथै पार्टीको जिल्ला कोषाध्यक्षका रूपमा पनि सक्रिय रहनुभएको छ।
सुदूरपश्चिम प्रदेशको कैलाली–१ बाट ४७ वर्षीया कोमल ज्ञवाली निर्वाचित हुनुभएको छ। उहाँ नागरिक उन्मुक्ति पार्टीमा कोषाध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो।
ठूला दलमा महिला विजयी शून्य
हालसम्मको परिणामअनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट प्रत्यक्षतर्फ निर्वाचित सात जनामध्ये एक जना पनि महिला हुनुहुन्न। त्यस्तै नेपाल कम्युनिष्ट पार्टीबाट निर्वाचित सात जनामध्ये पनि महिला उम्मेदवार विजयी हुनुभएको छैन।
प्रतिनिधिसभा निर्वाचनमा कुल ३९१ महिला र २,५८९ पुरुष उम्मेदवार चुनावी मैदानमा उत्रिनुभएको थियो। मुख्य राजनीतिक दलहरूले उठाएको महिला उम्मेदवारको संख्या नै न्यून भएकाले प्रत्यक्षतर्फ महिलाको प्रतिनिधित्व कम भएको विश्लेषकहरूको भनाइ छ।
राजनीतिक विश्लेषकहरूका अनुसार संविधानले समावेशिताको व्यवस्था गरे पनि प्रत्यक्ष निर्वाचनमा दलहरूले महिलालाई पर्याप्त अवसर नदिँदा संसदमा महिलाको उपस्थिति सीमित हुने प्रवृत्ति दोहोरिँदै आएको छ।









प्रतिक्रिया