सोमबारसम्ममा प्रत्यक्षतर्फको मतगणना सम्पन्न हुने

काठमाडौँ, २४ फागुन ।  निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मतगणना सोमबारसम्ममा सम्पन्न हुने बताएको छ ।

हालसम्म प्रत्यक्षतर्फ १५८ निर्वाचन क्षेत्रको नतिजा घोषणा भइसकेको छ भने बाँकी १० निर्वाचन क्षेत्रको मतगणना जारी छ। सोमबार दिउँसोसम्ममा सबै निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको मतगणना सम्पन्न हुने अपेक्षा आयोगले गरेको हो ।

समानुपातिकतर्फ खसेको एक करोड नौ लाख मतमध्ये हालसम्म ५४ लाखको मतगणना सम्पन्न भएको छ। फागुन २७ गते बिहानसम्म समानुपातिकतर्फको सबै मतगणना भइसक्ने आयोगको अपेक्षा छ ।

समानुपातिकतर्फको मतगणना सम्पन्न भएपछि थ्रेसहोल्ड पार गरेका दलहरूले प्राप्त गरेको मतका आधारमा आयोगले सम्बन्धित दलका तर्फबाट निर्वाचित हुने सांसदको सङ्ख्या निर्धारण गर्नेछ। निर्धारित सङ्ख्यामा समानुपातिक क्लस्टरअनुसारको प्रतिनिधित्व हुने गरी निर्वाचित हुने सांसदको नाम सिफारिस गर्न आयोगले राजनीतिक दलहरूलाई पत्राचार गर्नेछ।

दलहरूले बन्दसूचीभित्रबाट नाम सिफारिस गरेपछि उक्त नामावली समावेशी क्लस्टरबमोजिम मिले–नमिलेको रुजु गरी समानुपातिकतर्फका निर्वाचित सांसदको नाम यकिन गरी प्रमाणपत्र उपलब्ध गराइनेछ। २०८२ साल चैत ५ गतेभित्र यी सबै कार्य सम्पन्न गरिसक्ने लक्ष्यसहित आयोगले काम गरिरहेको छ।

प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार  २० : २१  बजे