काठमाडौं, २२ फागुन । यस पटकको प्रतिनिधिसभा सदस्य चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को लहर आउँदा कतिपय शीर्ष र चर्चित नेताहरू पराजित भएका छन् वा पछाडि परिरहेका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यसअघि फराकिलो मतले जितेको आफ्नो पुरानो निर्वाचन क्षेत्रमै पछाडि पर्नुभएको छ । पछिल्लो विवरणअनुसार ओलीको निर्वाचन क्षेत्र झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन्द्र ९बालेन० शाहले १३ हजार ६३४ मत प्राप्त गर्दा ओलीले ३ हजार ११ मत मात्रै प्राप्त गर्नुभएको छ ।
चितवन २ मा रास्वपाका सभापति रवि लामिछानेले फराकिलो अग्रता लिइरहनुभएको छ । लामिछानेले १७ हजार ४१४ मत पाउँदा नेपाली कांग्रेसकी मीनाकुमारी खरेलले ५ हजार १९४ मत ल्याएर पछ्याइरहनुभएको छ ।
यस्तै अघिल्लो चुनावमा सबैभन्दा ठूलो दल बनेको कांग्रेसका सभापति गगनकुमार थापा अहिले मतगणना चलिरहँदा पछाडि पर्नुभएको छ । आफूले चुनाव जित्दै आएको काठमाण्डौ ४ बाट यस पटक सर्लाही ४ मा पुग्नुभएका थापालाई रास्वपाका अमरेशकुमार सिंहले पछि पार्नुभएको हो । सिंहले २ हजार ८४७ मत प्राप्त गर्दा थापाले १ हजार ७१४ मत मात्रै प्राप्त गर्नुभएको छ ।
यसअघिको चुनावमा तेस्रो दल बनेको माओवादीसहितका दलहरू मिलेर बनेको नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड भने रुकुम पूर्वमा पुगेर उम्मेदवार बन्नुभएकोमा विजयी हुनुभएको छ ।
यस्तै नेकपा एमालेका महासचिव शंकर पोखरेल दाङ २ मा निकै पछाडि पर्नुभएको छ । रास्वपाका विपिनकुमार आचार्यले ८ हजार ७६८ मत पाउँदा पोखरेलले ३ हजार ५७० मत मात्रै प्राप्त गर्नुभएको छ ।
एमालेका ईश्वर पोखरेल र कांग्रेसका महामन्त्री प्रदीप पौडेल दुवै जना काठमाण्डौ ५ मा पछाडि पर्नुभएको छ । काठमाण्डौ ५ मा रास्वपाका सस्मित पोखरेलले १९ हजार ८६७ मत पाउँदा पौडेलले ६ हजार ६५ र पोखरेलले ३ हजार ४४ मत पाउनुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङ्देन झापा ३ मा पछाडि पर्नुभएको छ । झापा ३ मा रास्वपाका प्रकाश पाठकले ७ हजार ६१ मत पाउँदा लिङ्देनले ३ हजार ५९९ मत पाउनुभएको छ ।
यस्तै उज्यालो नेपाल पार्टीका कुलमान घिसिङ काठमाण्डौ ३ मा पछि पर्नुभएको छ । काठमाण्डौ ३ मा रास्वपाका राजुनाथ पाण्डेले ११ हजार ९७२ मत पाउँदा घिसिङले ७ हजार ७४५ मत पाउनुभएको छ ।
रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले तनहुँ १ मा अग्रता लिइरहनुभएको छ । वाग्लेले १० हजार ७६५ मत पाउँदा कांग्रेसका गोविन्द भट्टराईले ३ हजार ९८२ मत ल्याएर पछ्याइरहनुभएको छ ।
मन्त्री पदबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवार बन्नुभएका महावीर पुनले म्याग्दीमा अग्रता लिइरहनुभएको छ । उहाँले ५ हजार ५०८ मत पाउँदा एमालेका हरिकृष्ण श्रेष्ठले २ हजार ७१ मत पाउनुभएको छ ।
चुनावको प्रचारका बेला निकै चर्चित पूर्वपत्रकार ऋषि धमालाले रौतहट ४ मा १०२ मत पाउँदा त्यहाँ अग्रता लिएका रास्वपाका गणेश पौडेलले ७ हजार ३०६ मत पाउनुभएको छ ।
एमालेका नेता गोकर्ण विष्ट गुल्मी २ मा पछि पर्नुभएको छ भने गुल्मी १ मा रास्वपाका सागर ढकालले कांग्रेसका चन्द्रकान्त भण्डारी र एमालेका प्रदीपकुमार ज्ञवालीलाई पछि पार्नुभएको छ ।
एमालेका सचिव महेश बस्नेतलाई भक्तपुर २ मा रास्वपाका राजीव खत्रीले पछि पार्नुभएको छ ।
श्रमशक्ति संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई, पूर्वसभामुख देवराज घिमिरे, नेपालकै धनी व्यक्ति विनोद चौधरी, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत लगायतका शीर्ष नेताहरू पनि अहिले मतगणना चलिरहँदा पछाडि पर्नुभएको छ ।









प्रतिक्रिया