काठमाडौं , २१ फागुन । केपी शर्मा ओलीले मतदान गरेपछि आगामी सरकारको नेतृत्व आफूले गर्ने विश्वास व्यक्त गर्नुभएको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष ओलीले आज भक्तपुरको बालकोटस्थित मतदान केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै यस्तो धारणा व्यक्त गर्नुभएको हो।
अध्यक्ष ओलीले निर्वाचनमा एमालेले सम्भव भएसम्म स्पष्ट बहुमत ल्याउने र त्यो सम्भव नभए पनि पहिलो दल बन्ने दाबी गर्नुभयो।
उहाँले भन्नुभयो, “मैले पहिले पनि भनेको हो, हामी बहुमत ल्याउँछौँ। कथंकदाचित बहुमत आएन भने पनि एमाले पहिलो पार्टी बन्छ। त्यसमा कुनै शंका छैन।”
पत्रकारहरूले ‘चुनावपछि तपाईँ प्रधानमन्त्री बन्नुहुन्छ?’ भन्ने प्रश्न गर्दा अध्यक्ष ओलीले पार्टीको निर्णय नै निर्णायक हुने बताउनुभयो। उहाँले भन्नुभयो,
“मेरो पार्टीले मलाई प्रधानमन्त्री भन्न भन्या छ। मेरो पार्टीले भनेपछि देशले बनाउँछ।”
यसअघि र अहिलेको निर्वाचनबीच के फरक पाउनुभयो भन्ने प्रश्नमा उहाँले यसपटक अनावश्यक हल्ला र मतदातालाई दिग्भ्रमित पार्ने प्रयास बढेको टिप्पणी गर्नुभयो। उहाँका अनुसार केही तत्त्वले जनतालाई अलमल्याएर घृणा र प्रतिशोधको राजनीति गर्दै देशलाई अन्योलमा पार्ने प्रयास गरिरहेको अवस्था देखिएको छ।
अध्यक्ष ओलीले आफूले मतदान गरेको क्षेत्रमा एमाले उम्मेदवार महेश बस्नेतको जित सुनिश्चित रहेको पनि दाबी गर्नुभयो।









प्रतिक्रिया