देशका यी विशिष्ट व्यक्तित्वहरूले कहाँबाट गर्दै हुनुहुन्छ मतदान?

काठमाडौँ, २० फागुन । प्रतिनिधिसभा सदस्यको भोलि फागुन २१ गते हुने निर्वाचनका अवसरमा माननीय प्रधानमन्त्रीदेखि विभिन्न राजनीतिक दलका शीर्ष नेता, संवैधानिक निकायका पदाधिकारी, उद्योगी, शिक्षाविद् तथा कलाकारसम्मले आ–आफ्नो नामावली रहेको मतदान केन्द्रबाट मतदान गर्नुहुने कार्यक्रम रहेको छ।

माननीय प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको टोखा नगरपालिका–धापासीस्थित मतदान केन्द्रबाट मतदान गर्नुहुने उहाँका प्रेस सल्लाहकारले जानकारी दिनुभएको छ। राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालज्यूले चितवनको भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुर मतदान केन्द्रबाट मतदान गर्नुहुनेछ।

पूर्वराष्ट्रपति रामवरण यादवले धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीस्थित विपी कोइराला मावि मतदान केन्द्रमा मतदान गर्नुहुनेछ भने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीज्यूले बूढानीलकण्ठ नगरपालिका–२ भंगालस्थित मतदान केन्द्रबाट मतदान गर्नुहुने कार्यक्रम रहेको छ। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुहुने उहाँको सचिवालयले जनाएको छ।

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुर मतदान केन्द्रबाट मतदान गर्नुहुनेछ।पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहटस्थित रामजानकी कन्या आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुहुनेछ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौँको मैतीदेवी मयुरकुण्ड मतदान केन्द्रबाट मतदान गर्नुहुनेछ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काठमाडौँको चुच्चेपाटीस्थित महाँकाल मतदान केन्द्रबाट मतदान गर्नुहुनेछ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुहुने जनाइएको छ। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गोरखाको पालुङटार नगरपालिका–खोप्लाङस्थित अन्नपूर्ण माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुहुनेछ।

पूर्वमन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले पुरानो बानेश्वरस्थित सानो गौचरण पार्क मतदान केन्द्रबाट मतदान गर्नुहुनेछ। उद्योगी तथा व्यवसायिक क्षेत्रबाट नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डे तथा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले पनि आ–आफ्ना तोकिएका केन्द्रबाट मतदान गर्नुहुने कार्यक्रम रहेको छ।कलाक्षेत्रबाट वरिष्ठ अभिनेता राजेश हमाल, अभिनेत्री करिश्मा मानन्धर तथा अभिनेता भुवन केसीले समेत काठमाडौँका विभिन्न मतदान केन्द्रबाट मतदान गर्नुहुनेछ।

यसैबीच, निर्वाचन आयोगले सम्पूर्ण मतदातालाई आफ्नो नामावली रहेको केन्द्रमा समयमै उपस्थित भई शान्तिपूर्ण रूपमा मतदान गर्न अनुरोध गरेको छ। विशिष्ट व्यक्तित्वहरूको सक्रिय सहभागिताले लोकतान्त्रिक प्रक्रियाप्रति जनविश्वास अझ सुदृढ हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २० फाल्गुन २०८२, बुधबार  २१ : ५८  बजे