काठमाडौं, १८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को झन्डा राखेर चुनावी प्रचारमा हिँडेको जिपबाट प्रहरीले मदिरा, चामल र खानेतेल बरामद गरेको छ। घटनामा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सोमबार बिहान सल्यानको बन्गाड कुपिन्डे नगरपालिका–१, सल्लीबजारबाट खैरागारतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०४२९ नम्बरको जिपलाई जाँच गर्दा निर्वाचन लक्षित सामग्री भेटिएको आशंकामा चालकसहित दुई जनालाई नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक हेमबहादुर केसीका अनुसार जिपबाट २५ केजीका दुई बोरा चामल, ‘गोली डायमण्ड’ लेखिएको सात कार्टुन मदिरा, दुई कार्टुन ‘रकस्टार’ बियर तथा तीन कार्टुन खानेतेल बरामद गरिएको छ।
नियन्त्रणमा लिइएकाहरूमा सिद्धकुमाख गाउँपालिका–४ निवासी २४ वर्षीय चालक चन्द्रप्रकाश बुढाथोकी र ३७ वर्षीय मोहन बीसी रहेका छन्।
उक्त घटनाबारे रास्वपाका नगर सभापति लोकेन्द्र ओलीले जिपमा राखिएको सामग्री स्थानीय व्यापारीको भएको दाबी गर्नुभएको छ। “प्रचारप्रसारमा हिँडेको गाडीमा व्यापारीले सामान राख्नु गल्ती हो,” उहाँले भन्नुभएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।









प्रतिक्रिया