काठमाडौं, १७ फागुन। सिंहदरबार आगजनीको आरोपमा पक्राउ परेका महेन्द्र गौतमलाई मुद्दा नचलाउने जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको निर्णय उच्च सरकारी वकिल कार्यालय पाटनले बदर गरेको छ ।
उच्च सरकारी वकिलको कार्यालयले गौतममाथि अनुसन्धान गरी हदम्यादभित्रै मुद्दा दायर गर्न भनेको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले गत भदौ २४ को जेन-जी प्रदर्शनका क्रममा सिंहदरबार आगजनी गरेको आरोपमा पक्राउ परेका गौतमलाई मुद्दा चलाउने आधार नदेखिएको भन्दै मुद्दा नचलाउन सिफारिस गरेको थियो ।
जिल्ला सरकारी वकिल कार्यालयको यो निर्णय विवादित भएको थियो । माघ २२ गते पक्राउ परेका गौतमलाई मुद्दा चलाउने प्रमाण र आधार नभेटिएको भन्दै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले यही फागुन ८ गते थुनामुक्त गर्ने भनी प्रहरीलाई पनि पत्र लेखेको थियो ।
सरकारी कार्यालय जलाएको आरोप आफैंले स्वीकार गरेको व्यक्तिलाई मुद्दा चलाउनुपर्नेमा अभियोजन नै नगर्ने निर्णय गर्नु गलत फौजदारी अभ्यास हुने भनि आलोचना भएको थियो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख रामहरि काफ्लेले गौतमको हकमा उच्च सरकारी वकिल कार्यालयले मुद्दा चलाउनु भनेकाले अब जिल्ला अदालतमा मुद्दा दर्ता गरिने बताउनुभयो ।









प्रतिक्रिया