दुर्गा प्रसाईं पुनः पक्राउ

काठमाडौं, १७ फागुन। ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले आज बिहान पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले भक्तपुरस्थित निवासबाटै प्रसाईंलाई नियन्त्रणमा लिएको हो। पारिवारिक स्रोतका अनुसार बिहान करिब ६ बजेदेखि नै प्रहरी टोली निवास वरिपरि तैनाथ थियो। उनलाई करिब पौने आठ बजे पक्राउ पुर्जी थमाएर लगिएको बताइएको छ।

प्रहरीले दिएको पक्राउ पुर्जीमा ‘सार्वजनिक शान्तिविरुद्धको मुद्दाको अनुसन्धानका लागि’ पक्राउ गरिएको उल्लेख छ। हाल उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरमै राखिएको जनाइएको छ।

यसअघि पनि प्रसाईं ४ फागुनमा काठमाडौंमा पक्राउ परेका थिए। त्यसविरुद्ध उनकी पत्नी उमा प्रसाईंले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेपछि सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मामेघराज पोखरेलको इजलासले १३ फागुनमा थुनामुक्त गर्न आदेश दिएको थियो।

प्रसाईंको पछिल्लो पक्राउसँगै पुनः राजनीतिक र कानुनी बहस सुरु हुने संकेत देखिएको छ।

प्रकाशित मिति: १७ फाल्गुन २०८२, आइतबार  ०९ : १०  बजे