काठमाडौं, १५ फागुन । झापामा होली पर्वलाई लक्षित गरी बिक्रीका लागि राखिएका बालेन शाहको तस्बिर र राजनीतिक नारा अंकित २ सय ६२ थान टि–सर्ट प्रहरीले नियन्त्रणमा लिएको छ।
फागु पूर्णिमा (होली) पर्वको अवसर पारेर बजारमा राखिएका ती टि–सर्टहरूले निर्वाचन आचारसंहिता वा सुरक्षा संवेदनशीलतामा प्रभाव पार्न सक्ने ठहर गर्दै प्रहरीले बिर्तामोड, मेचीनगर, दमक र बुद्धशान्ति क्षेत्रका विभिन्न पसलहरूबाट सामग्री बरामद गरेको जनाएको छ।
सबैभन्दा बढी टि–सर्ट बिर्तामोडबाट जफत गरिएको छ। प्रहरी निरीक्षक रुपेश राईको नेतृत्वमा खटिएको टोलीले कृषिथोक चोक क्षेत्रका पसलहरूबाट ८७ थान तथा प्रहरी सहायक निरीक्षक सुशान्त पौडेलको टोलीले बिर्ताबजार हाट क्षेत्रबाट ६८ थान गरी कुल १५५ थान टि–सर्ट नियन्त्रणमा लिएको हो।
ती टि–सर्टमा “अब की बार, बालेन सरकार” र “यसपालिको होली बालेनसँग” जस्ता नाराहरू छापिएका थिए।
यसैगरी, मेचीनगरको काँकरभिट्टा र धुलाबारी बजारबाट पनि उल्लेख्य संख्यामा टि–सर्ट बरामद भएको प्रहरीले जनाएको छ। प्रहरी निरीक्षक बीरेन्द्र कोइरालाको टोलीले काँकरभिट्टाबाट ४३ थान र प्रहरी निरीक्षक नकुलराज गौतमको टोलीले धुलाबारीबाट १७ थान टि–सर्ट जफत गरेको छ।
प्रहरीले दमक नगरपालिका आसपासका पसलहरूबाट २१ थान तथा बुद्धशान्ति–३ स्थित बुधबारे बजारबाट २६ थान टि–सर्ट बरामद गरेको जानकारी दिएको छ।
होलीको बहानामा राजनीतिक प्रचारप्रसार हुने खालका सामग्री बजारमा ल्याएर अस्वस्थ वातावरण सिर्जना हुन सक्ने भन्दै प्रहरीले यस्ता सामग्रीको बिक्री वितरणमा कडाइ गरिएको स्पष्ट पारेको छ। प्रहरीले आचारसंहिता विपरीत गतिविधि नगर्न व्यापारी तथा सर्वसाधारणलाई आग्रहसमेत गरेको छ।









प्रतिक्रिया