आज रातिबाट काठमाडौँमा मदिरा बिक्री वितरण बन्द

काठमाडौं, १५ फागुन । प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आज रातिबाट काठमाडौँमा मदिराको बिक्री वितरणमा प्रतिबन्ध लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौँले शुक्रबार सूचना जारी गर्दै मिति २०८२ फागुन १५ गते राति १२ बजेदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मदिराको बिक्री वितरण, ओसारपसार तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाइएको जनाएको छ।

आगामी फागुन २१ गते मतदान हुने कार्यक्रम रहेको छ। मतगणना प्रक्रिया सम्पन्न भई अन्तिम नतिजा घोषणा नहुँदासम्म प्रतिबन्ध कायम रहने सूचनामा उल्लेख छ।

काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालद्वारा जारी सूचनामा जिल्लाभित्र मादक पदार्थको बिक्री, वितरण, ओसारपसार तथा सेवन नगर्न सबै सरोकारवालालाई आग्रह गरिएको छ।

प्रशासनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न यस्तो निर्णय गरिएको स्पष्ट पारेको छ। प्रतिबन्ध उल्लंघन गरे कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिइएको छ।

प्रकाशित मिति: १५ फाल्गुन २०८२, शुक्रबार  १५ : १९  बजे