सुदूरपश्चिमको विकास र समृद्धिका लागि मेरो उम्मेदवारी : लेखराज भट्ट

कैलाली, १५ फागुन  । लेखराज भट्टले सुदूरपश्चिम प्रदेशका महत्वपूर्ण तथा अधुरा आयोजना सम्पन्न गरी क्षेत्रको समग्र विकास र समृद्धि सुनिश्चित गर्न आफ्नो उम्मेदवारी रहेको बताउनुभएको छ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपमहासचिव तथा कैलाली–४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका उहाँले अत्तरियामा प्रेस चौतारीले आयोजना गरेको कार्यक्रममा बोल्दै आफ्नो उम्मेदवारी कैलालीमा मात्र सीमित नभई समग्र सुदूरपश्चिम र राष्ट्रकै हितका लागि भएको स्पष्ट पार्नुभयो।

उहाँले सुदूरपश्चिमको भविष्यसँग प्रत्यक्ष सरोकार राख्ने दैजी–छेला औद्योगिक क्षेत्र, सुख्खा बन्दरगाह, महाकाली करिडोर, सेती लोकमार्ग, धनगढी–खुटिया–दिपायल–उरै भञ्ज्याङ सडक तथा लालपुर–हरैया विशेष आर्थिक क्षेत्र निर्माणजस्ता महत्वपूर्ण आयोजना अघि बढाउन आफू सक्षम रहेको धारणा व्यक्त गर्नुभयो।

उहाँले भन्नुभयो, “मेरो कार्यकालमा सुरु भएका यहाँका धेरै महत्वपूर्ण योजना अहिले सुस्त गतिमा छन् वा अलपत्र परेका छन्। ती सबै योजनालाई पूर्णता दिन र सुदूरपश्चिमको मुहार फेर्न मैले पुनः जित्नुपर्ने आवश्यकता छ। सुदूरपश्चिमलाई विकासको मूलधारमा ल्याउनु नै मेरो पहिलो प्राथमिकता हो।”

विगतमा कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भई मन्त्रीको जिम्मेवारी सम्हाल्दा सुदूरपश्चिममा थुप्रै विकास निर्माणका काम अघि बढाइएको उहाँले स्मरण गर्नुभयो।

उहाँले एमालेले गरेका उपलब्धि र सकारात्मक कार्यहरू जनतासमक्ष पुर्‍याउन घरदैलो अभियानलाई तीव्रता दिइएको जानकारी दिनुभयो। प्रदेशको राजधानी गोदावरीमा सार्ने निर्णय दीर्घ अध्ययन र व्यापक छलफलपछि प्रदेशसभाबाट दुई तिहाइ बहुमतले पारित भएको उल्लेख गर्दै उहाँले त्यसको कार्यान्वयन रोक्न विभिन्न प्रयास भएको बताउनुभयो। अब उक्त निर्णयलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने उहाँको जोड थियो।

आगामी निर्वाचनपछि एमाले पहिलो शक्ति बन्ने विश्वास व्यक्त गर्दै उहाँले राष्ट्र र राष्ट्रियता सुदृढ गर्न एमाले नै सक्षम रहेको दाबी गर्नुभयो।

प्रकाशित मिति: १५ फाल्गुन २०८२, शुक्रबार  ०७ : ४७  बजे