काठमाडौँ, १४ फागुन । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा दुई जना उम्मेदवार र एक राजनीतिक दललाई कारबाही गरेको छ।
केन्द्रीय निर्वाचन आचारसंहिता तथा अनुगमन समितिको निर्णयअनुसार शक्तिबहादुर बस्नेत र स्वतन्त्र उम्मेदवार डा. निकोलस भुसाललाई जनही २५ हजार रुपैयाँ जरिवाना गरिएको छ। त्यसैगरी ‘श्रम शक्ति’ नामक राजनीतिक दललाई पनि २५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय भएको आयोगले जनाएको छ।
केन्द्रीय निर्वाचन आचारसंहिता तथा अनुगमन समितिका संयोजक तथा निर्वाचन आयुक्त सगुन शमशेर जबराले प्रतिनिधिसभा सदस्यका दुई उम्मेदवार र एक दललाई कारबाही गरिएको जानकारी दिनुभयो।
आयोगका अनुसार आचारसंहिता उल्लंघनबारे सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नआएपछि कारबाहीस्वरूप जरिवाना गर्ने निर्णय गरिएको हो।
निर्वाचन आयोगमा हालसम्म देशभरबाट तीन सयभन्दा बढी आचारसंहिता उल्लंघनसम्बन्धी उजुरी दर्ता भएका छन्। आयोगले ८२ जनालाई स्पष्टीकरण सोधेकोमा ५७ जनाबाट जवाफ प्राप्त भएको र ६ जना उम्मेदवारलाई पुनः स्पष्टीकरण माग गरिएको जानकारी दिएको छ।
निर्वाचनको स्वच्छता र पारदर्शिता कायम राख्न आचारसंहिता कडाइका साथ कार्यान्वयन गरिने आयोगले जनाएको छ।









प्रतिक्रिया